Logo

२ महिनामै ७० प्रतिशतले बढ्यो व्यापारघाटा, खानेतेल र फलामको आयात उच्च

२ महिनामै ७० प्रतिशतले बढ्यो व्यापारघाटा, खानेतेल र फलामको आयात उच्च



काठमाडौं । चालु आर्थिक बर्षको २ महिना अर्थात साउन र भदौ महिनामा गत आवको सोही अवधिको तुलनामा व्यापारघाटा ७० प्रतिशतले उकालो लागेको छ । निर्यातको व्यापार बढिरहेपनि सोही अनुसार आयातको व्यापारमा पनि वृद्धि हुँदा व्यापारघाटा उकालो लागेको हो ।

भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बढिको वैदेशिक व्यापार गरेको छ । जसमा निर्यात व्यापारको हिस्सा १२ दशमलव २८ प्रतिशत छ भने आयात व्यापारको हिस्सा ८७ दशमलव ७२ प्रतिशत छ ।

गत आवको तुलनामा निर्यातको व्यापार हिस्सा १९ दशमलव ७४ प्रतिशतले बढेको छ भने आयातको व्यापार हिस्सा २ प्रतिशतले घटेको देखिन्छ । यस अवधिमा नेपालले कुल वैदेशिक व्यापारमध्ये ४४ अर्ब ३ करोड ९५ लाख रुपैयाँको निर्यातको व्यापार गरेको छ । यस्तै आयातको व्यापार भने २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको गरेको छ ।

यसरी नेपालले गर्ने निर्यातको व्यापार आयातको व्यापारको तुलनामा ज्यादै न्युन हुँदा व्यापारघाटाको खाडल बढ्दै गएको देख्न सकिन्छ । भन्सार विभागका अनुसार चालु आवको पहिलो २ महिनामा नेपालले ३७ अर्ब ९५ करोड रुपैयाँ बढिको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

२ महिनामा नेपालले आयात गरेका वस्तुहरुमध्ये सबैभन्दा पहिलो स्थानमा पेट्रोलियम पदार्थ छ । पेट्रोलियम पदार्थ आयातमा मात्रै नेपालले २ महिनामा ३७ अर्ब ९५ करोड रुपैयाँ नै व्यापारघाटा व्यहोर्नुपरेको तथ्यांकमा उल्लेख छ । यस्तै नेपालले सबैभन्दा धेरै आयात गरेको दोेस्रो र तेस्रो स्थानमा भने फलाम र खानेतेल छन् । नेपालले पछिल्लो २ महिनामा मात्रै विभिन्न देशबाट २८ अर्ब ५५ करोड रुपैयाँ बराबरको फलाम र २६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कच्चा खानेतेल आयात गरेको देखिन्छ ।

यता धेरै निर्यात भएका वस्तुहरुको सूचीको पहिलो स्थानमा भने खानेतेल छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा नेपालले २५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बढिको प्रशोधित खानेतेल निर्यात गरेको देखिन्छ । यसअवधिमा खानेतेलको आयात र निर्यातको अन्तर १ अर्ब २ करोड ४४ लाख रुपैयाँको छ । अर्थात नेपालले आयात गरेको कच्चा तेल प्रशोधन गरी त्यसमा भ्यालु एड गरी विदेशमा निर्यात गर्दा पनि १ अर्ब बढिको व्यापारघाटामा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL