Logo

तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा ३ अर्ब डलर भारतीय लगानीको के हुन्छ ?

तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा ३ अर्ब डलर भारतीय लगानीको के हुन्छ ?



काठमाडौं । तालिबानले लगभग ३० बर्षपछि अफगानिस्तानमा सत्ता हासिल गरेको छ । पहिले एक आन्दोलन र पछि एक कट्टरपन्थी संगठन को रूपमा चिनिएको तालिबानले अफगान राजधानी काबुल कब्जा गरेसँगै अन्ततः अफगानिस्तानका राष्ट्रपति अशरफ घानी देश छाडेर विदेश पुगेका छन् ।

अमेरिकी सेनाले देश छोडेपछि केहि दिनभित्र अफगानिस्तानका हरेक प्रान्त, हरेक शहर तालिबानको पकडमा आउँदै गरेको र अन्ततः देश नै तालिवानको पकडमा गएको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अहिले भारत निकै संकटको अवस्थामा छ । घानी सरकारको निकै नजिक रहेर काम गरिरहेको भारत अहिले तालिवानको कब्जापछि अफगानिस्तानमा आफ्नो अर्बौ डलर रकमको लगानी के हुने भन्ने चिन्तामा छ ।

अर्बौ डलरको भारतीय लगानी

अमेरिकी सेनाले अफगानिस्तान छोडे पछि भारतका लागि गम्भीर धक्का लागेको छ । भारतले अफगानिस्तानमा अर्बौ डलर लगानी गरिसकेको छ र तालिबानको उदयपछि उसको लगानी संकटमा परेको भारतको अनुमान छ । भारतले अफगानिस्तानमा धेरै देशहरुको २० बर्षको मेहनत बर्बाद भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रमा भारतको रणनीतिक चासोको अफगानिस्तानमा सत्ता परिवर्तन एक महत्वपूर्ण घटना हो ।

भारतसँग अफगानिस्तानमा सडक , बाँध , बिजुली प्रसारण लाइन र सब स्टेशन , स्कूल–अस्पतालहरुमा ४०० भन्दा बढी परियोजनाहरु छन् । भारतले अफगानिस्तानमा तीन अर्ब डलरभन्दा बढी लगानी गरेको छ । अफगानिस्तानका पूर्वाधार परियोजनाहरुमा भारतको ठूलो लगानीमा अब तालिबान शासनद्वारा खतरा हुन सक्ने बताइएको छ । भारतको विदेश मन्त्रालयका अनुसार भारतले अफगानिस्तानमा ४०० भन्दा बढी साना र ठूला परियोजनाहरुमा काम गरिसकेको छ ।

अफगानिस्तान संसद

भारतको सबैभन्दा ठूलो लगानी परियोजना काबुलमा अफगानिस्तान संसद हो । भारतले अफगानिस्तानको संसद निर्माणमा ६५ करोड रुपैयाँ खर्च गरेको छ । अफगानिस्तानको संसद २०१५ मा भारतका प्रधानमन्त्रीले उद्घाटन गरेका थिए । उनले भनेका थिए कि भारत–अफगान मित्रता एक ऐतिहासिक घटना हो । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नाममा अफगानिस्तानको संसदमा एउटा ब्लक पनि छ ।

बाँध सुरक्षामा प्रश्न

अफगानिस्तानमा बिजुलीको उपलब्धता बढाउन सलमा बाँध बनाइँदै छ । हेरात प्रान्तमा निर्माण भइरहेको सलमा बाँध ४२ मेगावाटको जलविद्युत परियोजना हो । यो वर्ष २०१६ मा उद्घाटन गरिएको थियो र भारत–अफगान मैत्री परियोजनाको रूपमा परिचित छ । विगत केही हप्तादेखि हेरात प्रान्तमा अफगान सेना र तालिबानबीच भारी युद्ध चलिरहेको थियो । सलमा बाँधको सुरक्षा गरिरहेका थुप्रै सुरक्षाकर्मी तालिवानले मारिदिएका छन् ।

इरान सीमा नजिक राजमार्ग

भारत सीमा सडक संगठन (बिआरओ) अफगानिस्तान मा २१८ किलोमिटर लामो राजमार्ग बनाएको छ । १५० मिलियन डलर लगानीमा इरान सिमाना नजिक जारन्ज–डेलाराम राजमार्गको निर्माण भएको छ । यो राजमार्ग भारतका लागि यसकारण महत्वपूर्ण छ कि यसले भारतलाई अफगानिस्तानमा इरानसम्म जोडन एक वैकल्पिक मार्ग दिन्छ । जारन्ज राजमार्गको निर्माणमा भारतका ११ जनाले ज्यान गुमाएका थिए । जारञ्ज–डेलाराम बाहेक, भारतले धेरै सडक परियोजनाहरुमा पनि लगानी गरेको छ । जारन्ज–डेलाराम परियोजना भारतको सबैभन्दा महत्वपूर्ण लगानीमध्ये एक हो । यदि पाकिस्तानले भारतलाई भूमिबाट ब्यापार गर्नबाट रोक्यो भने भारतका लागि यो सडक त्यो स्थितिमा धेरै महत्वपूर्ण हुने बताइन्छ ।–नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL