Logo

संसदमा श्वेतपत्र पेश गर्दै अर्थमन्त्री : साना तथा मझौला उद्योगलाई विशेष सहुलियत, प्राथमिकतामा अर्थतन्त्र पुनरुत्थान

संसदमा श्वेतपत्र पेश गर्दै अर्थमन्त्री : साना तथा मझौला उद्योगलाई विशेष सहुलियत, प्राथमिकतामा अर्थतन्त्र पुनरुत्थान



काठमाडौं । सरकारले वर्तमान आर्थिक परिदृश्य समेटिएको श्वेतपत्र आज संसदमा पेश गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै नियुक्त भएका अर्थमन्त्री जनार्दन शर्माले वर्तमान आर्थिक परिदृश्य समावेश गरेर तयार पारिएको श्वेतपत्र आज संसदमा पेश गर्ने भएका हुन् ।

कोरोना पछिको अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राखेर तयार गरिएको उक्त श्वेतपत्रले साना तथा मझौला उद्योलाई विशेष प्राथमिकता दिने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयको बागडोर जनार्दन शर्माले सम्हालनेसँगै उनले अहिलेको वास्तविक आर्थिक परिदृश्यको आँकडा देखाउनुका साथै कोरोनाबाट ग्रसित साना तथा मझौला उद्योगलाई सहुलियत दिनेगरी श्वेतपत्र ल्याउने बताएका थिए ।
सोही अनुरुप श्वेत पत्रमा देशलाई कसरी आत्मनिर्भर बनाउने तथा हाल कोरोनाबाट ग्रसित अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने विषय केन्द्रित भएको समेत अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । साथै श्वेतपत्रमा कृषिलाई प्राथमिकता दिई आत्मनिर्भर उन्मुख अर्थतन्त्रको जग निर्माण गर्ने जस्ता विषय समेटिएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार श्वेतपत्रले साना तथा मझौला उद्योगलाई विशेष सहुलियतसहित राहत प्याकजनै ल्याउने भएको छ । हाल कतिपय त्यस्ता उद्योगहरु बन्द हुने अवस्थामै पुगेकाले त्यसलाई पुनर्जीवित गर्नका लागि विशेष सहुलियत सहितको राहत प्याकेजको व्यवस्था गरिएको हो । साथै श्वेतपत्रमा उल्लेख गरिएको विषयबस्तुलाई राष्ट्र बैंकले आगामी दिनमा ल्याउन लागेको मौद्रिक नीतिमार्फत सम्बोधन गरिने समेत अर्थ स्रोतले जानकारी दिएको छ ।

यसैगरी श्वेतपत्रले निर्यात प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको छ । नेपालबाट निर्यातको लागि उच्च भ्यालु एड हुने वस्तु भएपनि नगन्य मात्रामा निर्यात भइरहेको भन्दै आगामी दिनमा त्यसलाई प्रर्वद्धन गरी विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य अनुरुप श्वेतपत्रले सम्बोधन गरेको समेत उक्त स्रोतले जानकारी दिएको छ । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि साना उद्योगबाट भएका उत्पादनहरुलाई विदेशी बजारमा पुर्याउनका लागि समेत श्वेतपत्रले सहयोगीको रुपमा काम गर्ने छ ।

यसैगरी श्वेतपत्रले होटल तथा पर्यटन क्षेत्रका लागि समेत राहत प्याकेज ल्याउने भएको अर्थमन्त्राय स्रोतले जानकारी दिएको छ । आन्तरिक रुपमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्दैै विदेशी मुद्रा भित्र्याउने काम गर्दै आएको होटल तथा पर्यटन क्षेत्र कोरोना महामारीसँगै बन्द अवस्थामा छन् । तसर्थ सो क्षेत्रलाई समेत चलायमान बनाउन श्वेतपत्रले विशेष सम्बोधन गर्ने भएको छ ।

श्वेतपत्रले सार्वजनिक यातायात क्षेत्रलाई समेत सम्बोधन गरेको उक्त सोतले जानकारी दिएकाृ छ । कोरोनाका कारण सार्वजनिक यातायातहरु लामो समयदेखि त्यतिकै थन्किएर बसेको र उनीहरुको अर्बौं रुपैयाँ डुब्ने खतरा बढेका कारण श्वेपत्रले त्यस्ता क्षेत्रलाई समेत राहत उपलब्ध गराउने भएको हो । यस अघि यातायात व्यवसायीले कोरोनाको कारण आफ्नो अर्बौंको लगानी डुबेको र यसलाई सहुलियत दिन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL