Logo

संस्थानमा सरकारको ५ खर्ब १९ अर्ब लगानी आम्दानी सवा ४८ अर्ब, २४ संस्थान नाफामा १८ घाटामा

संस्थानमा सरकारको ५ खर्ब १९ अर्ब लगानी आम्दानी सवा ४८ अर्ब, २४ संस्थान नाफामा १८ घाटामा



काठमाडौं । सरकारी स्वामित्व भएका सार्वजनिक संस्थानहरुको संचालन आयमा ९ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । शुक्रबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक बर्ष ४४ सार्वजनिक संस्थानको कुल संचालन आय घट्दै ४ खर्ब २८ अर्ब ७८ करोड पुगेको हो । आर्थिक सर्वेक्षण अनुसार कुल ४४ सार्वजनिक संस्थानहरुमध्ये हाल २४ नाफामा र १८ सार्वजनिक संस्थान घाटामा छन् । यस्तै हाल २ ओटा सार्वजनिक संस्थानहरु शुन्यमा छन् ।

२०७७ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको सेयर र ऋण गरी कुल ५ खर्ब १९ अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ । जसमा सेयर लगानी २ खर्ब ८८ अर्व ६५ करोड ८५ लाख रुपैयाँ र ऋण लगानी २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख रुपैयाँ रहेको छ । सरकारले सो अबधिमा सार्वजनिक संस्थानहरुमा सेयर लगानी ६ प्रतिशत र ऋण लगानी १९ दशमलव ७९ प्रतिशतले बढाएको छ ।

यस्तै सबै सार्वजनिक संस्थानबाट आव २०७६ ७७ मा १ खर्ब १३ अर्ब बढि राजस्व संकलन भएको छ । नेपाल सरकारले सबै सार्वजनिक संस्थानहरुबाट गत आवमा १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांस प्राप्त गरेको छ । जुन अघिल्लो बर्षको यहि अवधिको तुलनामा ४८ दशमलव ८७ प्रतिशतले बढि हो । गत बर्षको यहि अवधिमा सरकारले सार्वजनिक संस्थानहरुमार्फत ९ अर्ब ४७ करोड ८० लाख रुपैयाँ लाभांस प्राप्त गरेको थियो ।

गत आर्थिक बर्ष नाफामा रहेको सबै संस्थानहरुको कुल नाफा ५३ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने घाटामा रहेका सबै संस्थानहरुको कुल नोक्सान ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । सोअनुरुप सरकाले गत आवमा सबै संस्थानहरुको एकिकृत कुल नाफा ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यसैगरी गत आबमा संस्थानमा कार्यरत कर्मचारीको संख्यामा सामान्य गिरावट आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा संस्थानमा कार्यरत कर्मचारीको संख्या २८ हजार ७ सय ३८ रहेकोमा आब २०७६÷७७ मा आईपुग्दा घटेर २८ हजार ३ सय ६४ जनामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्