Logo

चार नयाँ रिइन्स्योरेन्स कम्पनीको दर्ता प्रक्रिया अघि बढ्यो, कुनमा कसको लगानी ?

चार नयाँ रिइन्स्योरेन्स कम्पनीको दर्ता प्रक्रिया अघि बढ्यो, कुनमा कसको लगानी ?



काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने उद्घोष गरेसँगै निजी क्षेत्रले नयाँ कम्पनी खोल्ने प्रक्रिया अधि बढाएको हो ।

हालसम्म विभिन्न ४ ओटा समूहले नयाँ पुनर्बीमा कम्पनीले स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । बीमा समितिले यहि शुक्रबारसम्मका लागि कागजी प्रक्रिया पुरा गर्नका लागि समय दिएको र सोही अनुरुप कम्पनीहरुले अन्तिम तयारी जुटेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

जसअनुसार हालसम्म बीमा समितिमा प्रुडेन्सियल रि, काठमाडौं रि, अन्नपूर्ण रि र जेन्युयन रिले दर्ता प्रक्रिया अघि बढाएका हुन् । जसमध्ये प्रुडेन्सियल रिमा व्यवसायिक घरना आईएमई ग्रूप, विशाल ग्रूप र त्रिवेणी ग्रूपको लगानी रहेको छ । यसैगरी काठमाडौं रिमा पूर्व बैंक तथा कर्मचारीहरुको लगानी रहेको छ । जसको नेतृत्व बीमा समितिका पूर्व अध्यक्ष तथा नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका देवेन्द्रप्रताव शाह, नेपाल रिको पूर्व प्रमुख कार्यकारी अधिकृत महेश गुरागाईं, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका प्रमुख कार्यकारी श्रीचन्द्र भट्टले गरिरहेका छन् ।

यसैगरी जेन्युयन रिमा ५ सयभन्दा बढी सहकारी र बाणिज्य बैंकहरुको लगानी रहेको छ । जसको व्याकसर्पोटमा एमाले नेता बामदेव गौतम रहेका छन् । यस्तै अन्पूर्ण रिइन्स्योरेन्सको नेतृत्व गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले गर्दै आएका छन् । अन्नपूर्णमा पनि बाणिज्य बैंकहरुले संस्थापक लगानीकर्ताको रुपमा लगानी गरेका छन् ।

बीमा समितिका दर्ता प्रक्रिया अघि बढाएका रिइन्स्योरेन्स कम्पनीमध्ये तीन ओटाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनेछ भने एउटाको १५ अर्ब रुपैयाँ हुनेछ । हाल नयाँ दर्ता प्रक्रिया अघि बढाएका चार ओटै कम्पनीको कागजी प्रक्रियाको काम अन्तिम चरणमा पुगेको र बीमा समितिको समयसीमा अनुरुप शुक्रबारसम्म सबैले कागजात पेश गरिसक्ने जानकारी दिएको छ ।

बीमा समिति स्रोतका अनुसार हालसम्म दुई ओटा नयाँ रिइन्स्योरेन्स कम्पनीका लागि लाईसेन्स दिने प्रतिवद्धता जनाईसकेको छ । तर चार ओटाकै आवेदन आएको खण्डमा त्यसलाई कसरी व्यवस्थापन गरिने भन्ने विषयमा टुङ्गो नलागेको उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्