Logo

मास्क र स्यानिटाइजरमा कालोबजारी : १ रुपैयाँ पर्ने सर्जिकल मास्क १० रुपैयाँ, २ सय पर्ने स्यानिटाइजर ६ सयमा बिक्री

मास्क र स्यानिटाइजरमा कालोबजारी : १ रुपैयाँ पर्ने सर्जिकल मास्क १० रुपैयाँ, २ सय पर्ने स्यानिटाइजर ६ सयमा बिक्री



काठमाडौं । कोरोना संकटलाई अवसरको रुपमा लिँदै मास्क तथा स्यानिटाइजर व्यापारीहरुले कालोबजारी गरेका छन् । सुरु देखि नै व्यापारीहरुले मास्क र स्यानिटाइजरमा कालोबजारी गर्दै आएकोमा पछिल्लो समय अझै बढी उपभोक्ता ठगिने क्रम बढेको छ । सुरुवाती समयमा मास्क तथा स्यानिटाइजरको अभाव देखाउँदै उच्च मूल्यमा बिक्री गर्दै आएका व्यापारीले अहिले पर्याप्त र सहज उपलब्ध भएपनि १० गुणासम्म मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।

पछिल्लो समय औषधि पसल र फुटपाथ पसलहरुले मास्क तथा स्यानिटाइजरमा कालोबजारी गर्दै आएको सम्बद्ध सरोकारवाला निकायहरुको भनाई छ । ‘पछिल्लो समय विशेषगरी मेडिकल तथा औषधि पसलले खरिदमूल्यभन्दा १० गुणा बढी महङ्गोमा मास्क बिक्री गर्दै आएका छन् भने स्यानिटाइजरमा पनि सोहीअनुरुप आफुखुशी मूल्य लिएर बेचिरहेका छन्,’ सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

उदाहरणका लागि अहिले सर्जिकल मास्कको प्रतिगोटा मूल्य १ रुपैयाँ पर्छ । तर मेडिकल, औषधि पसल तथा फुटपाथमा सो मास्कको मूल्य १० रुपैयाँ रहेको छ । यसैगरी उत्पादकहरुले प्रतिलिटर २ सय रुपैयाँभन्दा कममा बिक्री गर्दै आएको स्यानिटाइजर उपभोक्तासम्म पुग्दा त्यसको मूल्य ६ सय रुपैयाँभन्दा बढी पर्दै आएको छ ।

पछिल्लो समय सरकारको मौनता र व्यवसायीको जसरी पनि कमाउनुपर्छ भन्ने सोचका कारण मास्क र स्यानिटाइजरमा उपभोक्ताहरु ठगिने क्रम बढेको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । ‘कोभिडसँगै हाम्रा लागि मास्क तथा स्यानिटाइजर अत्यावश्कीय बस्तु भैसकेको छ,’ उनले भने, ‘तर, सरकारसँग अधिकार सम्पन्न मूल्य निर्धारण संयन्त्र नहुँदा उत्पादक तथा खुद्रा पसलले आफुखुशी मूल्य तोकेर सामान बिक्री गर्दै आएका छन्,’ उनले भने, ‘पछिल्लो समय मास्क र स्यानिटाइजरको मूल्य मात्रै नभएर गुणस्तरमा समेत समस्या देखिएको छ ।’ बजारमा छ्याप्छ्याप्ती पाईने गुणस्तहीन मास्क र स्यानिटाइजरले उपभोक्ताको स्वास्थ्यमा समेत ठूलो असर गरेको उनको भनाई छ ।

यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले यस विषयमा पछिल्लो समय आफुहरुले अनुगमन नगरेको र अबका दिनमा अनुगमनलाई तीब्रता दिईने बताए । ‘हामीले कोरोना सुरु हुने वित्तिकै बजारमा मास्क र स्यानिटाइजरको मूल्य तथा स्टकको वारेमा अनुगमन गरेका थियौं,’ उनले भने, ‘पछिल्लो समय सहज रुपमा पाइन थालेसँगै अनुगमन गरेका छैनौं तर अब गर्नेछौं ।’

साथै आफुहरुले उपभोक्ताको गुनासोलाई प्राथमिकतामा राखेर बजार अनुगमन गर्दै आएको समेत उनले जानकारी दिए । ‘हामीसँग सीमित स्रोत र साधन छन्,’ उनले भने, ‘त्यसबाट मासबेसमा अनुगमन गर्न सकिँदैन तसर्थ उपभोक्ताको गुनासो सुझावको आधारमा अनुगमन गर्दै आएका छौं ।’ साथै अबका दिनमा बजारमा मास्क तथा स्यानिटाइजरमा भइरहेको कालोबजारीको सम्बन्धमा समेत अनुगमन तथा अनुसन्धान गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL