Logo

विद्युतीय तार भूमिगत गर्ने क्रममा सडक अलपत्र, सडक खनेको १० दिनमा खाल्डाखुल्डी टाल्ने नियम पालना भएन

विद्युतीय तार भूमिगत गर्ने क्रममा सडक अलपत्र, सडक खनेको १० दिनमा खाल्डाखुल्डी टाल्ने नियम पालना भएन



काठमाडौं । हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य हुने सडकको रुपमा चिनिएका काठमाडौं उपत्यकाका सडक सधैं खन्ने क्रम चलिरहन्छ । जसका कारण सवारीचालक, पैदलयात्रीदेखि स्थानीय बासिन्दासम्मले लामो समय सास्ती पाउने गरेका छन् । कहिले, पानी, कहिले ढल, कहिले बिजुली, कहिले टेलिफोन, कहिले इन्टरनेट भन्दै सडक खन्नेहरुले सडक खनेर आफ्नो काम गर्ने तर, खनेका सडकलाई पुनः व्यवस्थापन नगर्ने गर्दा काठमाडौंवासीले सधै धूलो, मैलो र प्रदूषणको मार खेपिरहेका छन् ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारहरुलाई अन्डरग्राउन्ड (भूमिगत) गर्ने काम शुरु गरेसँगै काठमाडौंका केही क्षेत्रका सडक लथालिंग भएका छन् । जसका कारण ती क्षेत्रमा स्थानीय, व्यापार–व्यवसाय सञ्चालन गर्ने, सवारीचालक तथा पैदलयात्रीले समेत विभिन्न कष्ट बेहोरिरहेका छन् ।

प्राधिकरणका अनुसार गत बर्षको फागुनदेखि सुरु गरिएको तार भूमिगत गर्ने कार्य हाल तीव्र रुपमा चलिरहेको छ । कतिपय स्थानमा काम सम्पन्न भई डिस्ट्रिव्युट गर्न मात्रै बाँकी छ भने कतिपय स्थानहरुमा भर्खर सुरु हुँदैछ । तार भूमिगत गर्ने बेलामा प्राधिकरणले सडक नखनीकनै अर्थात होरिजेन्टल ड्रिलिङको माध्यमबाट तार अन्डरग्राउन्ड गर्ने योजना बनाएको थियो । साथै सडक खनेकै अवस्थामा पनि खनेको १० दिनभित्रै सडक पुनः कालोपत्रे गर्नेगरी काम गर्ने बताएको थियो । प्राधिकरणले सडक खनेपनि त्यसलाई तुरुन्त व्यवस्थापन गर्ने र कसैलाई समस्या नपर्नेगरि काम गर्ने भनेपनि अहिले भने अवस्था त्यस्तो देखिएको छैन् ।

हाल काठमाडौंको उत्तर चक्रपथदेखि बुढानीलकण्ठको सडक खनेको ३ महिना वितिसक्दासमेत कालोपत्रे नहुँदा उक्त सडकखण्डमा धूलो, हिलो र प्रदूषणले समस्या श्रृजना गरेको छ । पैदल हिँड्ने यात्रुहरु सास्तीमा परेका छन् । ‘भित्री सडकहरु त अस्तव्यस्त छन् नै तर मुख्य सडकहरु पनि प्राधिकरणले तार विछ्याउने नाममा अलपत्र पार्दै छोड्ने गरेको छ’, एक पैदल यात्रुले भने ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाका अनुसार निश्चित काम बाँकी रहेकाले सडक टाल्ने काममा ढिलाई हुँदै आएको छ । तर, सडक खनेको ३ महिना वितिसक्दा पनि टाल्ने प्रक्रिया नै अघि नबढ्दा स्थानीयबासीहरुसमेत आजित भएको स्थानीयवासीहरु बताउँछन् । प्राधिकरणले गत बर्षको फागुनमा काठमाडौं उपत्यकाका प्रमुख स्थानहरुमा तार भूमिगत गर्नेगरी काम सुरु गरेको थियो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त परियोजनाको उदघटन समारोहमा जताभावी सडक खनेर अलपत्र नपार्ने प्रतिवद्धता गरेका थिए । उनले उक्त समारोहमा सडक जताततै नखन्ने, खनेपनि व्यवस्थित तरिकाले खन्ने र १० दिनभित्रै पिच गर्नेगरी काम गरिने बताएका थिए । हाल उनको उक्त प्रतिवद्धता नै अलपत्र परेको छ ।

भारतीय ठेकेदार कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडसँग महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर बराबरको सम्झौता भएको थियो । यस्तै रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलरबराबरको सम्झौता भएको छ । पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको तयारी छ । यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ऋण सहयोग गरेको छ ।

हालसम्म प्राधिकरणले रत्नपार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य लाइनको काम सम्पन्न गरिसकेको र अब सहायक लाइनमात्रै बाँकी रहेको प्राधिकरणका प्रवक्ता तिमल्सिनाले बिजखबरलाई जानकारी दिए । मुख्य लाइनमा अन्डरग्राउन्ड भएका तारलाई हाल डिस्ट्रिव्युसन प्वाइन्टमा जोड्नेलगायतका कामहरु भईरहेका छन् । यस्तै सहायक लाइनहरुमा भने पाईप विछ्याएसँगै विद्युतीय तारहरु राख्ने कामहरु पनि तीव्र गतिमा भईरहेको उनले बताए ।

प्राधिकरणले चालु आर्थिक बर्षभित्रै उपत्यकाका ९० हजार बढी घरधुरीमा भूमिगत लाइनमार्फत विद्युत पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । काठमाडौं उपत्यकाका विद्युतीय पोलहरुमा विद्युतसँगै केवल टेलिभिजन, इन्टरनेटलगायतका तारको गुजुल्टोकाका कारण शहरको स्वरुप नै कुरुप भएको भन्दै प्राधिकरणले विद्युतीय तारलाई भूमिगत गर्ने योजना बनाएको थियो । जसमा इन्टरनेट र केवल टेलिभिजनका सेवाप्रदायकले पनि आफ्नो वायरहरु राख्न पाउनेगरी डक्टहरु विछ्याईएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए । उनका अनुसार मुख्य सडकहरुमा तार विछ्याइसकेपनि केही प्राविधिक कामहरु भने बाँकी नै छन् । त्यसै कारण पनि मुख्य सडकका केही खण्डहरुमा पिच गर्ने काम गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्