Logo

क्युआर कोडमार्फत भुक्तानी सेवा शहरदेखि गाउँसम्म बिस्तार, ६ महिनामा ५ अर्ब ६४ करोड बराबरको कारोबार

क्युआर कोडमार्फत भुक्तानी सेवा शहरदेखि गाउँसम्म बिस्तार, ६ महिनामा ५ अर्ब ६४ करोड बराबरको कारोबार



काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानीमा तीब्र वृद्धि हुँदै गएको छ । नेपाल सरकारको क्यासलेस नेपाल बनाउने अभियानलाई मूर्तरुप दिन नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल भुक्तानीलाई सहयोग पुग्ने गरि नीति निर्माण तथा आवश्यक व्यवस्था गरिरहेको छ । राष्ट्र बैंक नै पछिल्लो समय क्युआर कोड भुक्तानी प्रर्वद्धनमा लागिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैपनि यसको क्युआर कोड बिस्तार र प्रर्वद्धनमा खटिइरहेका छन् ।

विश्वभर क्युआर कोडलाई भुक्तानीको उचित विकल्पका रुपमा लिने गरिएको छ । नेपालमा पछिल्लो समय विभिन्न बैंकहरुले नेपाल राष्ट्र बैंकको सहकार्यमा तरकारी बजारदेखि मन्दिरको भेटी चढाउनेसम्म पनि क्युआर भुक्तानीको प्रयोगको सुरुवात गरेका छन् । विभिन्न बैंकहरुले शुरु तथा बिस्तार गरिरहेको क्युआर भुक्तानी सेवाको उद्घाटन तथा शुभारम्भ गभर्नर आफैले गर्ने गरेका छन् ।

हाल क्युआर कोडको प्रयोग बढदै मोफसलसम्म पनि पुग्दा क्युआरमार्फत ट्रान्जेक्सन पनि बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको चालु आवको पछिल्लो ६ महिनाको तथ्यांकअनुसार हालसम्म क्युआर कोडमार्फत ५ अर्ब ६४ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको भुक्तानी भएको छ । जुन पछिल्लो महिना लगातार बढिरहेको अवस्थामा देख्न सकिन्छ । यस्तो भुक्तानी गत साउनमा नभएपनि त्यसपछि भने उकालो लागेको देखिन्छ । भदौ महिनामा क्युआर कोडमार्फत हुने भुक्तानी १ लाख ९५ हजार चोटी भएको देखिन्छ । जसमार्फत ५८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

असोजमा १ लाख ७९ हजार पटक कारोबार हुँदा ६४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो । साथै कार्तिक र मंसिरमा क्रमशः ९६ करोड र ९३ करोड रुपैयाँ बढीको कारोबार भएको नेपाल राष्ट्र बैंकका तथ्यांकमा उल्लेख छ । यस्तै यस्तो भुक्तानी पुसमा पुनः बढ्दै ३ लाख ४३ हजार ५ सय चोटी क्युआर कोडको प्रयोग हुँदा १ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । पछिल्लो महिना अर्थात माघमा यस्तो भुक्तानी पुनः बढेको छ । राष्ट्र बैंकका अनुसार उक्त महिना ३ लाख ७२ हजार १ सय ७६ पटक क्युआर कारोबार भएको छ । जसमार्फत १ अर्ब २४ करोड ५० लाख बराबरको कारोबार भएको छ ।

पछिल्लो समय क्युआर कोडमार्फत मात्रै नभई इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, वालेट, आईपीएसलगायत माध्यमबाट हुने भुक्तानी पनि बढ्दो छ । राष्ट्र बैंकका अनुसार चालु आवको माघसम्म आईपीएस प्रविधिमार्फत मात्रै १३ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म इन्टरनेट बैंकिङमार्फत ५४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालसम्म सबैभन्दा बढी कारोबार हुने माध्यममा भने रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) रहेको छ । उक्त माध्यमबाट चालु आवको ६ महिनामा ९१ खर्ब २१ अर्ब बढीको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै यस अवधिमा कनेक्ट आईपीएसमार्फत पनि ५ खर्ब १३ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा मोबाईल बैंकिङमार्फत भने १ खर्ब ७५ अर्ब बढीको भुक्तानी भएको छ ।

तर, यी विद्युतिय भुक्तानीका यी सबै माध्यमभन्दा क्युआर कोडमार्फत गरिने भुक्तानी छिटो छरितो र भरपर्दा हुने भन्दै राष्ट्र बैंकले यसको भरपुर प्रर्वद्धन गरिरहेको छ । जसका लागि गत मंगलबार मात्रै ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गरेको छ । जसमा क्युआर कोडमार्फत हुने भुक्तानीको कुनै शुल्क नलाग्ने, यसलाई भरपर्दो र छिटो बनाउन सेवाप्रदायकले विभिन्न प्राविधिक सुधार गर्नुपर्नेलगायतका कुराहरु समेटिएको छ ।

पहिले पाट्टफुट्ट नेपालमा क्युआर कोडमार्फत भुक्तानी हुने गरेपनि गत पुस १० मा भने औपचारिक रुपमा यसको सुरुवात गरिएको थियो । नक्साल तरकारी बजारमा पहिलोपटक १० पुसमा भुक्तानी माध्यमका रूपमा क्युरआर कोडको प्रयोग गरिएको थियो । त्यसबेला गभर्नर अधिकारीले नै यसलाई सही रुपमा प्रयोगमा ल्याउने बताएका थिए । त्यसयता बसमा भाडा भुक्तानी, मन्दिरको भेटी, साईकलमा तरकारी बेच्ने पसलेलाई, पसल, होटललगायत सबै क्षेत्रमा यसको व्यापक प्रयोग भईरहेको छ । तर, पछिल्लो समय यसको नाम अनुसार काम नभयपछि भने प्रयोगकर्ताले हैरानी खेप्नुपरिरहेको छ ।

कहिले भनेकै समयमा भुक्तानी नहुने, भुक्तानी भईसकेपनि भुक्तानी भएको नदेखाउनेलगायतका समस्या यसमा अझै पनि रहेको प्रयोगकर्ताहरु बताउँछन् । यस्ता समस्यालाई नियमन गर्न राष्ट्र बैंकले मापदण्ड जारी गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । उनका अनुसार क्युआर कोड पछिल्लो समय भरपर्दो भएकाले नै यसको प्रयोग तीव्र रुपमा बढिीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL