Logo

नेपालको दुग्ध व्यवसायमा निजी क्षेत्रको ३० अर्ब लगानी, वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह

नेपालको दुग्ध व्यवसायमा निजी क्षेत्रको ३० अर्ब लगानी, वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह



काठमाडौं । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्नअझै केही समय लाग्ने देखिएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग संघको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो ।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको संघका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताए ।

उनका अनुसार दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर पनि हो । नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ ।

कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको अध्यक्ष दाहालले जानकारी दिए । संघका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा रु ३० अर्बको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध रहेका छन् ।

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक रु पाँच करोड तथा वार्षिक रु १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ ।

नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको सङ्घका निर्वतमान अध्यक्ष इञ्जिनीयर अरनिको राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्