Logo

अहिले आवेदन दिएकाले सवारी लाइसेन्स पाउन एक वर्षसम्म कुर्नुपर्ने, ट्रायलकै लागि ९ महिना लाग्ने

अहिले आवेदन दिएकाले सवारी लाइसेन्स पाउन एक वर्षसम्म कुर्नुपर्ने, ट्रायलकै लागि ९ महिना लाग्ने



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण करीब १ वर्ष अवरुद्ध भएर शुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेँस) लिन आवेदन दिएकाले लाइसेन्स पाउन भने लामोसमय कुर्नु पर्ने भएको छ ।

अहिले हरेक दिन यातायात व्यवस्था विभागमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन आवेदन दिनेको संख्या बढिरहेको छ । यसरी सेवाग्राहीले लगातार अनलाइन आवेदन दिँदा सम्बन्धित यातायात कार्यालय उपस्थित हुने समयसमेत ९ महिना पछिसम्म पुगेको छ । अर्थात धेरै सेवाग्राहीको आवेदन परेका कारण काठमाडौं उपत्यकाका लािग आवेदन दिने सेवाग्राहीले डिसेम्बरसम्ममा ट्रायल दिने पालो पाउनेछन् ।

विभागका अनुसार हालसम्म ६ लाख बढीले विभागमा अनलाइनमार्फत लाइसेन्सका लागि आवेदन बुझाईसकेका छन् । विभागले कोरोना महामारीको लामो समयपछि अनलिमिटेड रुपमा आवेदन दिन पाईने सुविधा ल्याएपछि आवेदन दिनेको संख्या तिव्र बढिरहेको छ । विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालका अनुसार फागुन ८ सम्म साढे ५ लाख जनाले आवेदन दिएका थिए । त्यसयता आवेदन दिनेको संख्यामा झण्डै १ लाखको वृद्धि भएको छ ।

हाल लाइसेन्सका लागि अनलाईन आवेदन दिनेको संख्या ६ लाख बढी पुगिसकेको उनले जानकारी दिए । विभागले विश्वभर कोरोना महामारी फैलिएसँग नेपालमा पनि फैलिएको कोरोना महामारीका कारण गत बर्ष चैतदेखि यस्तो अनलाइन आवेदन लिन बन्द गरेको थियो । तर, कोरोना महामारी सामान्य बन्दै गएपछि विभागले २ महिनाअघि यसको आवेदन खोलेको थियो । तर आवेदन एक्कासी खोल्दा विभागको साईटले नै काम नगरेपछि विभागले यसको कोटा सिस्टम हटाएर अनलिमिटेड आवेदन लिने व्यवस्था गरेको थियो ।

विभागले आवेदन दिने कार्यलाई कोटा गर्नुभन्दा पनि ट्रायल दिने समयलाई बरु लम्ब्याएर आवेदन अनलिमिटेड गरेको थियो । यसैका कारण हालसालै आवेदन दिएका सेवाग्राहीहरुलाई विभागको सिस्टमले नै कार्यालय भिजिट गर्ने समय ९ महिनापछि सारिदिने गरेको छ । काठमाडौं उपत्यकामा चाप भएपनि उपत्यका बाहिर भने यस्तो चाप नरहेको विभागका सूचना अधिकारी भुषाल बताउँछन् । ‘कसैलाई काठमाडौंमा आवेदन दिँदा ढिलो हुन्छ भन्ने लागे उपत्यका बाहिरका लागि फारम भर्न सक्नुहुनेछ,’ उनले भने, ‘उपत्यका बाहिर भरेमा ३ देखि ४ महिनामै पालो आउनसक्छ ।’

उपत्यका बाहिरका कार्यालयहरुमा आवेदन दिने सेवाग्राहीको चाप कम हुने हुनाले चाँडै पालो आउनसक्ने उनको बुझाई छ । आवेदन दिएका सेवाग्राहीहरुले हाल नेपालभरका २० बढी यातायात कार्यालयहरुबाट परीक्षा दिईरहेका छन् । तर, लाईसेन्स भनेकै समयमा पाउन भने कठिन हुने विभागले जानकारी दिएको छ ।

विभागमा हाल लाइसेन्सका स्टक ज्यादै न्युन भएका कारण भनेकै समयमा सेवाग्राहीलाई लाईसेन्स वितरण गर्न नसकिने सूचना अधिकारी भुषालले बिजखबरलाई जानकारी दिए । हाल विभागमा ३० देखि ४० हजार थान लाईसेन्स स्टकमा छन् । तर आवेदन दिनेको संख्या दिनानुदिन बढ्दै जाँदा यसको वितरणमा समस्या आउनसक्ने उनको अनुमान छ । हाल विभागमा भएको स्टकबाट लाइसेन्स चाँडो आवश्यक पर्नेलाई, अत्यावश्यक ग्राहक तथा नभईनहुने क्रियाकलापका लागि मात्रै वितरण गरिँदै आएको छ । विभागसँग छाप्ने क्षमता भरपुर भएपनि कार्ड नभएका कारण सेवाग्राहीहरुले पुनः पुरानै समस्या झेल्नुपर्ने अवस्था सिर्जना हुँदैछ ।

तर, यसका लागि विभागले नयाँ कार्ड आयात गर्ने प्रक्रिया अघि बढाइसकेको र १४ लाख थान स्मार्ट लाईसेन्स कार्ड आयातका फ्रान्सेली कम्पनीलाई जिम्मा दिइसकेको विभागले बताएको छ । उक्त कम्पनीलाई विभागले आगामी २ महिनाभित्रै कार्ड उपलब्ध गराउनेगरी जिम्मा लिएका कारण सेवाग्राहीहरुले पहिलेजस्तो लाइसेन्स पाउन १ बर्षै कुर्नुपर्ने अवस्था भने नआउने भुषाल बताउँछन् । तर, प्रत्येक आवेदकले आफुनअनुकुल ट्रायल दिँदा पनि परिक्षार्थीहरु २० प्रतिशतले मात्रै पास गर्ने विभागको अनुमान छ । जसअनुसार ६ लाखले आवेदन दिँदा त्यसको २० प्रतिशत मात्रै लाईसेन्स चाहिने भएकाले लाइसेन्सको अभाव नहुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL