Logo

इन्टरनेट पहुँच बढ्दै जाँदा ७ महिनामा पाँच लाख थान राउटर आयात, राउटर आयातमा झण्डै २ अर्ब रुपैयाँ बाहिरियो

इन्टरनेट पहुँच बढ्दै जाँदा ७ महिनामा पाँच लाख थान राउटर आयात, राउटर आयातमा झण्डै २ अर्ब रुपैयाँ बाहिरियो



काठमाडौं । पछिल्लो समय दशेभर इन्टरनेट सेवामा भएको तीब्र विस्तारसँगै इन्टरनेटका लागि आवश्यक राउटर आयात पनि बढेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पुगेको छ । चालु आर्थिक वर्षको छ महिनाको मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।

इन्टरनेट सेवामा पहँच वृद्धि भएसँगै चालु आर्थिक बर्षको माघसम्म नेपालमा ४ लाख ७७ हजार बढी वाईफाई राउटर आयात भएको छ । पछिल्लो समय नेपालमा दूरसंचारसँगै इन्टरनेट खपत बढेपछि प्रत्येक घरधुरीले आफ्नो घरमा वाइफाइ राख्ने प्रचलन बढ्दो छ । एकातिर इन्टरनेटलाई अत्यावश्यक वस्तुको रुपमा लिइएको छ भने अर्कोतिर मनोरन्जनको वस्तुको रुपमा लिँदा यसको प्रयोग व्यापक हुँदै गएको छ ।

जसका कारण नेपालमा वाइफाइ राउटर आयात पनि सोहीअनुसार बढेको हो । भन्सार विभागका अनुसार चालु आवको माघसम्म मात्रै १ अर्ब २४ करोड ५८ लाख रुपैयाँ बराबरका ४ लाख ७७ हजार २ सय ४४ थान राउटर भित्रिएका छन् ।

नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकले विभिन्न देशहरुबाट यस्ता राउटरहरु आयात गरी आफ्ना ग्राहकहरुलाई वितरण गर्ने गर्दछन् । जसअनुसार पछिल्लो ७ महिनामा चीनबाट मात्रै यस्ता राउटरहरु १ अर्ब २० करोड रुपैयाँ बढीका ४ लाख ७१ हजार ४ सय २९ थान राउटर नेपाल भित्रिएका छन् ।

यस्तै नेपालले यस अवधिमा ताइवानबाट ४ हजार ७ सय ७४ थान, यमनबाट ५ सय थान, लातभियाबाट ३ सय ४५ थान राउटर आयात गरको छ । यता व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र (टीइपीसी)को तथ्यांकलाई केलाउँदा नेपालले विश्वका विभिन्न १६ बढी देशहरुबाट यस्ता राउटरहरु आयात गर्ने गरेको छ । जसमा जर्मनी, हङकङ, भारत, मेक्सिको, मलेसिया, लिथुवानिया लगायतका देशहरु पर्दछन् ।

नेपालमा हाल विभिन्न ४० बढी इन्टरनेट सेवाप्रदायकहरुले नेपालभर आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसअनुसार पुस महिनासम्म इन्टरनेट सेवाप्रदायकका इन्टरनेट ग्राहकहरु मात्रै ५३ लाख ४७ हजार ५ सय ८३ पुगेका छन् । यस्तै हालसम्म ब्रोडब्याण्ड इन्टरनेट चलाउने सेवाग्राहीको संख्या मात्रै २ करोड ४७ लाख ३५ हजार पुगेको छ । सबै सेवाप्रदायकले आफ्ना ग्राहककहाँ सेवा पुर्याउँदा राउटर पनि संगै जडान गरिदिन्छन् । सेवाप्रदायकले दिएका सबैजसो ग्राहकहरुको घरमा कुनै न कुनै हिसावले राउटर जोडिएको नेपाल दूरसंचार प्राधिकरण बताउँछ । प्राधिकरणका अनुसार कुनै राउटर सेवाग्राहीलाई सेवाप्रदायक आफैले दिन्छन भने कुनै सेवाग्राही आफै किन्छन् ।

यसरी नेपालमा इन्टरनेटको पेनिट्रेसन बढेसँगै राउटर आयातमा पनि छलाङ मारेको देखिन्छ । टीईपीसीका अनुसार चालु आव र गत आवमा मात्रै विभिन्न देशबाट नेपालमा राउटरहरु आयात भएको छ । अन्य बर्षहरुमा भने राउटरको आयत शून्यप्राय नै रहेको तथ्यांकमा उल्लेख छ । अघिल्ला बर्षहरुमा अन्य एचएस कोडमा राउटर आयात हुने गरेकाले पनि टीइपीसीको तथ्यांकमा राउटरहरुको तथ्यांक नभएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL