Logo

के हो ‘मेक इन नेपाल स्वदेशी अभियान’ ? कति सम्भव छ पाँच वर्षमा नेपालको निर्यात पाँच खर्ब पुर्याउने लक्ष्य ?

के हो ‘मेक इन नेपाल स्वदेशी अभियान’ ? कति सम्भव छ पाँच वर्षमा नेपालको निर्यात पाँच खर्ब पुर्याउने लक्ष्य ?



काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसंघ (सिएनआइ) ले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुआत गरे । सिएनआइले फागुन ७ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि यो अभियानको घोषणा गरेको थियो ।

निकै महत्वाकांक्षी रहेको अभियानअन्तरगत परिसंघले हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँचवर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने लक्ष्य परिसंघको छ । परिसंघले आफ्नो अभियानमार्फत देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने बताएको छ ।

यसैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोर मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसंघ लागिपरेको र सोमबारको अभियान त्यसैको उदाहरण भएको बताउँछन् । उनका अनुसार परिसंघले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।

अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताए । प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिए । उनले कृषिलाई उत्पादनसँग जोडेर औद्योगिकीकरणको मार्गमा अगाडि बढ्नुपर्ने तथा अनावश्यक वस्तुको आयात गर्नेतर्फ ध्यान दिन नहुने उल्लेख गरे । निजी क्षेत्रले शुरु गरेको भए पनि यो अभियान सरकारको नै अभियान भएकाले यसलाई सफल बनाउन नीतिगत एवम् कानूनीरुपमा के कस्ता सहयोग गर्न सकिन्छ, त्यसका लागि सरकार तयार रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘यो अभियान एउटा नयाँ अठोट हो, राष्ट्रलाई आधुनिकीकरण र औद्योगीकरण गर्ने दिशामा महत्वपूर्ण रहन्छ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्रीले यस्ता अभियान साना देखिए पनि अर्थ ठूलो हुने भन्दै भारतमा महात्मा गान्धीले शुरु गरेका चर्खा आन्दोलनको उदाहरण दिए । नेपाली उत्पादनले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्ने गरी उद्योगको क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

सरकारले राष्ट्रिय सङ्कल्पका साथ शुरु गरेको समृद्ध नेपाल र सुखी नेपालीसँग स्वदेशी उत्पादनको महत्व जोडिएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धि र सुखसँगसँगै अघि बढाउनुपर्नेमा विशेष जोड दिए । नेपालमा आवश्यक नै नभएका वस्तु आयात भइरहेकामा चिन्ता व्यक्त गर्दै उनले त्यस्ता सामानलाई क्रमशः न्यूनीकरण गर्नुपर्छ भने । नेपाल र नेपाली उद्योगले आफ्ना वस्तुको उत्पादन बढाउँदै उनले अन्तरराष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी तयारी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । सरकारले औद्योगिकीकरणका लागि हालै औद्योगिक सप्ताह जसरी देशैभर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको प्रधानमन्त्रीले सो अवसरमा जानकारी दिए ।


कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढेको भन्दै कुनै समस्या भए त्यसलाई क्रमशः समाधान गर्दै जाने बताए । उनले पछिल्ला दिनमा निजी क्षेत्रका साझा संस्थासँग निरन्तर संवाद गरिएको र आवश्यकताका आधारमा लगानीमैत्री कानूनको तर्जुमा गरिएको जानकारी दिए । अझै केही कानूनमा सुधार गर्नुपर्ने भए पनि सरकार तयार रहेको उनको भनाइ थियो । परिसंघका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL