Logo

प्रधानमन्त्रीसहित अर्थ, स्वास्थ्य र परराष्ट्रमन्त्रीले लगाए कोरोना खोप, सुरक्षित भएकाले ढुक्कसँग लगाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीसहित अर्थ, स्वास्थ्य र परराष्ट्रमन्त्रीले लगाए कोरोना खोप, सुरक्षित भएकाले ढुक्कसँग लगाउन प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन्। उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ।

उनिसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अस्पताल पुगेका थिए।

खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिडविरुद्धको अभियान सफल पार्न सबैमा अनुरोध गरेका छन । उनले खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन सर्वसाधारणलाई आग्रह गरे प्रधानमन्त्री ओलीले खोप लगाएर आफूलाई कुनै पनि नकारात्मक असर नपरेको पनि जानकारी दिए । गृहमन्त्री रामबहादुर थापाले भने बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ। पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ। यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ।

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालेको छ। बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL