काठमाडौं । विश्वमा नेपालीहरुले विभिन्न नयाँ–नयाँ खोज र नयाँ आविष्कारहरु गरिरहेपनि नेपालमा पेटेन्ट दर्ता भने एकदमै कम संख्यामा रहेको देखिएको छ । उद्योग विभागका अनुसार अहिलेसम्म नेपालमा ७६ ओटा पेटेन्ट मात्रै दर्ता भएका छन् ।
पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ ले ‘पेटेन्ट’ भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनु पर्छ भन्ने उल्लेख गरेको छ। सोअनुसार नेपालमा एकदमै कम आविष्कार भएको वा नयाँ उपाय वा तरिका विकास भएको बुझिन्छ । विश्व परिवेशमा हेर्ने हो भने अमेरिका सबैभन्दा धेरै पेटेन्ट दर्ता भएको मुलुकमा पर्दछ । अमेरिकाले सन २०२० सम्ममा १ लाख ९६ हजार ४ सय ४३ ओटा पेटेन्टमा आफ्नो दाबी गरिसकेको छ ।
यस्तै जापानले पनि विभिन्न ५५ हजार २ सय ५ ओटा पेटेन्टमा आफ्नो दाबी गरिसकेको छ । तर, नेपालले भने चालु आवको पहिलो चौमासिकसम्म जम्मा ७६ ओटा पेटेन्टमा आफ्नो दाबी गरेको उद्योग विभाग औद्योगिक सम्पत्ती शाखाकी निर्देशक विन्दा आचार्य बताउँछिन । नेपालका युवाहरु अन्वेषण र नयाँ खोजमुलक क्रियाकलापमा पछि परेकै कारण पेटेन्ट दाबीमा पनि पछि परेको उनको भनाई छ ।
सन २०२० को अन्त्यसम्म विश्वभर ३ लाख ९० हजार ५ सय ७६ ओटा पेटेन्ट दर्ता भएका छन् । जसमा सबैभन्दा अगाडि अमेरिका, जापान, चीन, दक्षिण कोरियालगायतका देशहरु रहेका छन् । यस्तै छिमेकी देश भारतले पनि हालसम्म १ हजार १ सय ८९ ओटा पेटेन्टमा आफ्नो दाबी गरिसकेको छ । तर, नेपालले भने लामो समयसम्म पनि प्रगति गर्न नसक्नुको कारण यसको कागजी प्रक्रिया (डकुमेन्टन्टेसन प्रोसेस) पनि भएको आचार्य बताउँछिन् । ‘नेपालमा आविष्कारहरु त्यति हुँदैनन, भएपनि पेटेन्ट दर्ता गर्नुपर्छ भन्ने कसैलाई थाहा छैन,’ उनले भनिन्, ‘पेटेन्ट दर्ता गर्दाको प्रक्रिया धेरै झन्झटिलो भएकाले पनि यसमा खासै चार्म देखिँदैन ।’
नेपालमा कुनै नयाँ आविष्कार भएको वा कसैले गरेको खण्डमा उद्योग विभागमा विभिन्न कागजातहरु जस्तै आविष्कारको प्रमाण, उपयोगितालगायत कुरालाई समेटेर प्रमाण बुझाउनुपर्छ । आविष्कारक स्वयंले उक्त कुरा जानेका हुँदैनन् र जान्नेले पैसा बढी लिन्छन् । अर्थात डकुमेन्ट बनाउन खर्च बढी लाग्ने हुनाले पनि प्राय आविष्कारकहरुले आफ्नो आविष्कारको पेटेन्ट दर्ता गर्दैनन् । ‘प्राय आविष्कारकहरुसँग पैसाको कमी हुन्छ,’ उनले भनिन्, ‘पैसा बढी लाग्ने भएर पनि धेरैजसो पेटेन्टहरु दर्ता हुँदैनन् ।
यस्तै नेपालमा पेटेन्ट धेरै दर्ता नहुनुको कारणमा झन्झटिलो कार्य पनि एक हो । कुनै आविष्कारको पेटेन्ट दर्ता गर्नुपर्दा त्यसको विषयवस्तु, उपयोगिता, आविष्कारका चरणहरुलगायत सबै खुलाउनुपर्छ । यस्तै आविष्कार साँच्चै आविष्कार हो या होईन अर्थात अरु कसैले बनाएको नक्कली होकि भनेर पनि जाँच गरिन्छ । जुनसुकै आविष्कारको खास जाँच गर्न छुट्टै विज्ञ आवश्यक पर्ने भएकाले पनि यसलाई झन्झटिलो मानिन्छ ।
विभागका अनुसार गत आवमा नेपाली र विदेशी पेटेन्ट नेपालमा दर्ता भएनन् । तर हालसम्म विभागमा ४० ओटा नेपाली र ३६ ओटा विदेशी गरी ७६ ओटा पेटेन्ट दर्ता भएका छन् । कुनै पनि नयाँ आविष्कारको प्रमाणपत्र सरकारले दिने क्रियालाई पेटेन्ट राइट भनिन्छ । एउटै डटपेनमा पनि विभिन्न १६ ओटा पेटेन्ट दर्ता गर्न सकिन्छ । विभागमा हालसम्म १ सय ९५ ओटा डिजाईन र ५१ हजार २ सय २२ ओटा ट्रेडमार्क दर्ता भएका छन् ।
के हो पेटेन्ट ?
पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ ले ‘पेटेन्ट’ भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनु पर्छ भन्ने उल्लेख गरेको छ। यस्तै ऐनमा ‘डिजाइन’ भन्नाले कुनै प्रकारले तयार गरी बनाईएको वस्तुको छाँट रूप वा आकार सम्झनु पर्छ भने ‘ट्रेडमार्क’ भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आपूले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिन्ह वा चित्र वा शब्द, चिन्ह र चित्र तिनै कुराको संयोग सम्झनु पर्छ भन्ने उल्लेख छ