Logo

सिविफिनको प्रथम साधारणसभा : राष्ट्र बैंकको संचालकमा प्रतिनिधित्व गराउन माग, संस्थापक सेयर हटाउनुपर्ने

सिविफिनको प्रथम साधारणसभा : राष्ट्र बैंकको संचालकमा प्रतिनिधित्व गराउन माग, संस्थापक सेयर हटाउनुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा आफुहरुलाई पनि संचालकको रुपमा प्रतिनिधित्व गराउन माग गरेको छ । सिविफिनको प्रथम वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष पवन कुमार गोल्यानले देशको आर्थिक मेरुदण्डको प्रमुख अंग बैंक तथा वित्तीय संस्था रहेका कारण नीति नियम बनाउने संस्थाहरुमा प्रतिनिधित्व गराउन माग गरेका हुन् ।

यसैगरी अबका दिनमा बैंक तथा वित्तीय संस्थामा हाल लाग्दै आएको संस्थापक र साधारण सेयरको क्याप समेत हटाउनुपर्ने उनको माग थियो । ‘अहिले अन्य संस्थामा निश्चित समयपछि संस्थापक र सर्वसाधारण सेयर भन्ने हुँदै तर बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्समा मात्रै सो नियम लागू छ,’ उनले भने, ‘यसरी क्याप लगाउँदा लगानीयोग्य पूँजी होल्ड भएर बस्ने भएका कारण उक्त व्यवस्थालाई खारेज गरी सबैलाई साधारण सेयरमा परिणत गरिनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था र उद्योगी तथा व्यवसायी एक अर्कामा प्रतिस्पर्धी नभई परिपुरकको रुपमा अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी नभई बैंक चल्दैन भने बैंक नभई पनि उद्योग व्यवसाय चल्न कठिन हुन्छ,’ उनले भने । साथै पछिल्लो समय कोभिडबाट समस्यामा परेको उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले बजेट तथा मौद्रिक नीतिबाट केही हदसम्म राहत दिएको भन्दै आगामी दिनमा बजेट बनाउँदा समेत अर्थतन्त्र उकास्ने गरी बजेट निर्माण गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष आग्रह गरेका थिए ।

यसैगरी चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबका दिनमा बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा डिजिटल प्रविधिमा जानुपर्ने बताए । बैंक भनेको अन्य उद्योग व्यवसायभन्दा फरक प्रकृतिको व्यवसाय रहेको भन्दै आफ्नो नाफामा मात्रै केन्द्रित नभई राष्ट्रको आर्थिक विकासमा समेत ध्यानदिनुपर्ने उनको भनाई थियो ।

साथै देशमा उद्योग, पर्यटन, जलविद्युत तथा कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्ने भन्दै सोका लागि एकल अंकको स्थिर व्याजदर हुनुपर्ने समेत उनको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष मोरले राष्ट्र बैंकले कोभिडबाट प्रभावित उद्योग व्यवसायका लागि ल्याएको पुनकर्जाले उद्योगी व्यवसायीको माग संबोधन नगरेको भन्दै त्यसलाई वृद्धि गर्नुपर्ने बताए । साथै रुग्ण उद्योगका लागि समेत सोही अनुरुपको नीति ल्याउनुपर्ने उनको माग थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले बैंकर तथा उद्योग व्यवसायीका उचित र सम्भव मागलाई मात्रै सरकारले सम्बोधन गर्ने बताए । ‘सबै माग सम्बोधन गर्न सम्भव नहुन सक्छ,’ कार्यक्रममा उनले भने, यसअघि पनि राज्यले आफ्नो क्षमताले भ्याएसम्म उद्योगी व्यवसायीलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिईने छ ।’

प्रतिक्रिया दिनुहोस्