Logo

गतबर्ष आर्थिक वृद्धिदर २ %ले ऋणात्मक हुँदा चालू आबमा २.२७ % पुग्ने प्रक्षेपण : अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्ने, प्रतिव्यक्ति आय ११३४ डलर पुग्यो

गतबर्ष आर्थिक वृद्धिदर २ %ले ऋणात्मक हुँदा चालू आबमा २.२७ % पुग्ने प्रक्षेपण : अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्ने, प्रतिव्यक्ति आय ११३४ डलर पुग्यो



काठमाडौं । नेपालको गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय लेखा सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै गत आवमा मुलुकको अर्थतन्त्र १ दशमलव ९९ प्रतिशतले ऋणात्मक देखिएको उल्लेख गरेको छ । तर, राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार परिवर्तन भने बढेको छ । आधार वर्ष परिवर्तन गर्नुपूर्व नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतले हुने प्रक्षेपण रहेको थियो ।

पुराना आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेकोमा आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागले राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष पाँचौँपटक परिवर्तन गरेको हो । हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाका आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुने राष्ट्रिय लेखा तथ्यांक तयार गरिएको छ । विश्वमा पनि हरेक १० वर्षमा राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन गर्ने गरिएको छ ।

यसअघि सन् २०००/०१ को आधार वर्षका आधारमा राष्ट्रिय लेखा तयार पारिदैं आएकोमा यस वर्षदेखि आधार वर्ष परिवर्तन गरी सन् २०१०/११ कायम गरिएको छ ।

राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागले जनाएको छ ।

आधार वर्ष परिवर्तन हुँदा नेपलको अर्थतन्त्र १४ दशमलव १ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् ।

राष्ट्रिय लेखा तथ्यांकको आधार परिवर्तन हुँदा अर्थतन्त्रमा खासै परिवर्तन नहुने तर परिष्कृत, विश्वसनीय र समयसापेक्ष तथ्यांक आउने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL