Logo

अन्तरराष्ट्रिय बजारमा सेयरको ओरालो यात्रा : के हुन्छ नेपालमा, यसो भन्छन् विश्लेषक

अन्तरराष्ट्रिय बजारमा सेयरको ओरालो यात्रा : के हुन्छ नेपालमा, यसो भन्छन् विश्लेषक



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परिरहँदा सेयर बजारले भने ठीक त्यसको विपरित उकालो यात्रा तय गरेको थियो । कोरोना कारण व्यापार व्यवसाय तथा उद्योग कलकारखाना ठप्प जस्तै भएका कारण अर्थविद्हरुले समेत आर्थिक मन्दी आउने बताइरहँदा विश्व सेयर बजार भने बढ्न पुगेको थियो ।

अमेरिकाको डाउजोन, भारतको सेन्सेक्स, जापानको निक्की, ह्याङ् सेनजस्ता इन्डेक्सहरु उच्च रुपमा बढ्न पुगेका थिए भने विश्व सेयर बजारको इतिहासमा नयाँ–नयाँ रेकर्डसमेत कायम हुन पुग्यो । सोही अनुरुप नेपाली सेयर बजार नेप्सेले पनि परिसुचक र कारोबार रकम दुबैमा दैनिक जसो नयाँ रेकर्ड कायम गरेको थियो ।

कोरोनाका उद्योग व्यवसायमा लगानीको वातावरण नहुँदा लगानीकर्ताहरु अल्पकाल (सर्टटर्म)का लागि सेयर बजारमा प्रवेश गर्दा अर्थतन्त्रका अन्य पाटाहरु समस्यामा पर्दा समेत सेयर बजारमा भने रौनकता छाएको सम्बद्ध अर्थविद्हरु बताउँछन् । ‘व्यवसायीहरुसँग पैसा थियो तर कोरोनाका कारण उद्योग व्यवसायमा लगाउने अवस्था थिएन भने बैंकमा राख्दा पनि एकदमै न्यून ब्याज दिन थाले,’ एक अर्थविद्ले भने, ‘लगानीकर्ता भनेको जहिले पनि अग्रगामी (लगानी गरेर प्रतिफल लिईहाल्नुपर्ने) सोचका हुन्छन् जसले गर्दा तत्कालका लागि सेयर बजारमा प्रवेश गरे बजारले पनि राम्रो गति लियो ।’

तर, पछिल्लो बजारमा कोरोना विरुद्धको भ्याक्सिन आएसँगै उद्योगी व्यवसायीहरु थप आशावादी बन्दै उद्योग व्यवसायमै पुनरागमन हुन थालेकाले सेयर बजारमा नकारात्मक असर पर्न थालेको सम्बद्ध अर्थविद्हरु बताउँछन् । जसका कारण अमेरिकाको डाउजोन होस वा भारतको सेन्सेक्स, जापानको निक्कीलगायतका स्टक एक्स्चेञ्जहरुमा उच्च गिरावट आउन सुरु गरेको छ । शुक्रबार मात्रै भारतको सेन्सेक्समा करिव २ हजार अंकको गिरावट आउँदै समग्र सेन्सेक्स इन्डेक्स ४९ हजारमा झरेको छ । यसैगरी डाउजोनमा पनि फेब्रुअरी २६ मा एकदिन ४६९ अंकको गिरावट आएको थियो भने निक्की १२ सय अंकले घट्दा ह्याङ सेङमा पनि १ हजार ९३ अंकको गिरावट आएको छ ।

नेपालमा पनि लामो समय बन्द भएर कोरोना पछि संचालनमा आएको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वृद्धिले छलाङ मारेको थियो । तर, गत हप्तादेखि करेक्सन आउन थालेको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसुचकमा ४४ अंकले गिरावट आएको थियो भने । गत हप्ताको आईतबार अर्थात फागुन ७ गते २६ सय ४० अंकबाट खुलेको बजार बिहीबार बन्द हुँदा २५ सय ५४ अंकमा झरेको थियो । गत हप्ता नेप्से परिसुचक बुधबार बाहेक अन्य दिनमा गिरावट आएको थियो ।

पछिल्लो समय कोरोनापछि उद्योग व्यवसाय लयमा आउँदा उद्योगी व्यवसायीहरु आफ्नै पुरानो व्यापार व्यवसायमा फर्किएका छन् भने सेयर बजारकै लगानीकर्ताहरु पनि इक्विटी मार्केटभन्दा डिवेञ्चरतर्फ आकर्षित हुन थालेका समग्र लगानीकर्ताहरुनै बताउँछन् । साथै लगानीकर्ताहरु सेयर बजार (इक्विटी) को रिस्कभन्दा डिवेञ्चरमा पाईने ब्याज आम्दानीमा बढी आकर्षित हुन थालेको सेयर बजारमा विश्लेषकहरु बताउँछन् ।

नेपालमा पनि लगानीकर्ताहरु उद्योग व्यवसायतर्फ आकर्षित हुन पुग्दा बजारमा कारोबार रकममा समेत गिरावट आएको छ । दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको नेपाली सेयर बजारमा कारोबारको आकार घट्दै ६÷७ अर्बमा सीमित हुन थालेको छ । यसैगरी राष्ट्र बैंकले पनि आन्तरिक रुपमा बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाई गरेको छ भने कतिपय विकास बैंकहरुले सीमाभन्दा बढी रकम लगानी गरेको भन्दै पत्रनै काटेर स्पष्टिकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको छ ।

यसैगरी गतहप्तामात्रै बीमा कम्पनीहरुले आफ्नो लगानीलाई तोकिएको क्षेत्रमा बिकेन्द्रिकरण नगरी बैंकको मुद्दती निक्षेप राख्ने तथा सेयर बजारमा मात्रै लगानी गरेको भन्दै उत्पादनशिल क्षेत्रमा लगानी बीमा समितिले निर्देशन जारी गरेको छ । जस अनुसार बीमा कम्पनीहरुले आफ्नो बीमा कोषको २० प्रतिशत रकम कृषि, जलविद्युत तथा पूर्वाधार क्षेत्रमा लगाउनुपर्ने हुन्छ । सेयर बजारमा ठूला संस्थागत लगानीको सीमा खुम्चने तथा कतिपय लगानीकर्ताहरु सेयर बजारको रिस्कमा खेल्नुभन्दा डिबेञ्चरमा लगानी गर्न आकर्षित हुन थालेका छन् ।

पछिल्लो समय औद्योगिक क्षेत्रमा कर्जाको माग बढी भएसँगै बैंक तथा वित्तीय संस्थाहरु समेत सेयरकर्जा तथा सेयर लगानीभन्दा त्यसतर्फ केन्द्रित हुन थालेको नेपाल बैंकर्स संघले साप्ताहिक रुपमा प्रकाशित गर्ने तथ्याङ्कले देखाएको छ । ‘कोरोना समयमा केही काम नहुँदा सबैको आकर्षण तथा अल्झिने ठाउँ सेयर बजार भएको थियो,’ एक लगानीकर्ताले भने, ‘नेपालमा समेत कोरोना विरुद्धको खोप आएपछि उद्योगी व्यवसायीहरु खोप लगाएर उच्च मनोवलका साथ आफ्नै काममा फर्किएका छन् भने बैंक तथा वित्तीय संस्थाहरु पनि नियामकको निर्देशन तथा आफ्नो उद्देश्य अनुरुप कर्जा विस्तामा लागेको देखिएको छ ।’ जसका कारण आगामी दिनमा बजारमा लगानीयोग्य पूँजीको अभाव हुने देखिएको र त्यसले गर्दा सेयर बजारमा केही असर पर्न सक्ने ती लगानीकर्ताको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL