काठमाडौं । चीन सरकारले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ । आइतवार उपराष्ट्रपति नन्दबहादुर पुनसँग आइतबार भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका थिए ।
नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको मास्केले बताए ।
चीनको प्राथमिकतामा केरुङ भएपनि नेपालतिरको बाटो साँघुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव नदेखिएको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । ‘पेट्रोल, डिजेल र अन्य सामाग्री केरुङबाटै ल्याऔंला, ग्यासका बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव गरेका छौं,’ राजदूतलाई उद्धृत गर्दै उपराष्ट्रपति पुनका स्वकीय सचिव सुकबहादुर रोकाले भने ।
चीन फर्कनु अघि उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटमा डा. मास्केले चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी गराएका थिए ।
उनले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेकाले निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकाले व्यापारिक संझौता हुन केही ढिला भइरहेको जानकारी पनि गराएका थिए ।
चीनले इन्धन अहिलेसम्म नबेचेकोले बेच्नका लागि केही नियम बनाउनुपर्ने भएकाले केही ढिला भइरहेको राजदुत मास्केले जानकारी दिए ।
राजदुत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए पनि ग्यासका बुलेटहरु केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकोले तातोपानी नाकाबाट ल्याउने कोशिस भइरहेको पनि जानकारी गराएको उपराष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।