Logo

महासंघ र नेपाल बैकर्स संघबीच सहकार्य, एसएमईजहरुलाई कर्जा सहजीकरण गर्ने

महासंघ र नेपाल बैकर्स संघबीच सहकार्य, एसएमईजहरुलाई कर्जा सहजीकरण गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच एक सम्झौता भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षरसंगै उक्त सम्झौता भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रम बीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका छन् ।

दुवै संस्था बीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूको हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने बताईएको छ ।

यस्तै उक्त सम्झौतामा एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने कार्यक्रम छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव संवोधन गर्नेछ,’ उनले भने, ‘एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । उनले दुवै संस्था समृद्धिका असल साझेदार भएको समेत जानकारी दिएका छन् । अहिले पनि मुलुकभित्र ७ सय ४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भैसकेको जानकारी गराउदै उनले महासंघको यो सहकार्य पछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने बताए ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत वसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए ।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अव त्यो समस्यालाई संवोधन गर्ने विश्वास प्रकट गरेका छन् । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL