Logo

विश्वकपका संरचना निर्माणको क्रममा कतारमा ६५ सय आप्रवासी कामदारको मृत्यु, धेरै मृत्य हुनेमा नेपाली पनि

विश्वकपका संरचना निर्माणको क्रममा कतारमा ६५ सय आप्रवासी कामदारको मृत्यु, धेरै मृत्य हुनेमा नेपाली पनि



काठमाडौं । कतारले सन २०२२ को फिफा वर्ल्ड कप (विश्वकप) फुटबल आयोजना गर्दैछ । जसका लागि केही वर्षयता कतारले विश्वकपका लागि विश्वकै उत्कृष्ट संरचनाहरु धमाधम निर्माण गरिरहेको छ । तर, विश्वकै धनी राष्ट्रका रुपमा रहेको कतारमा नेपालीलगायत हजारौं आप्रवासी कामदारहरुले रंगशालालगायका पूर्वाधार निर्माणका क्रममा ज्यन गुमाइरहेको दुखद परिस्थिति छ ।

बेलायती पत्रिका ‘द गार्जियन’ ले भर्खरै प्रकाशित गरेको एक नयाँ प्रतिवेदनअनुसार पछिल्लो १० बर्षमा कतारमा कम्तिमा ६ हजार ५ सय आप्रवासी कामदारहरुको मृत्यु विश्वकपका पूर्वाधार निर्माणका क्रममा भएको देखिएको छ । प्रतिवेदनले विश्वकपका लागि संरचना निर्माण कार्यका लागि ६ हजार ५ सय बढीले आफ्नो ज्यान गुमाउनुपरेको उल्लेख गरेको छ ।

‘गार्जियनले बाहिर ल्याएको मृतकको संख्याले खतराको घण्टी बजाएको छ । तर यहाँ काम गर्ने मजदुरहरुले पारिश्रमिक पनि खतराकै आधारमा बढी पाएका हुनसक्छन्,’ एम्नेस्टी ईन्टरनेशनल पर्सियन गल्फ रिजनका अनुसन्धाता मे रोमानोस भन्छन् । यस्तै उनले पहिले नै कतारलाई वर्ल्ड कप आयोजनाका लागि आवश्यक संरचना निर्माणका लागि आप्रवासी कामदारको स्वास्थ्यमा राम्रो ख्याल राख्नुपर्ने स्पष्ट रुपमा भनेको बताए । यदि कतारले त्यसमा ध्यान पुर्याएको भए हाल हजारौं आप्रवासी कामदारहरुले आफ्नो अमूल्य ज्यान गुमाउनु नपर्ने धारणा उनी राख्छन् ।

गार्जियनका अनुसार ६ हजार ५ सय जना मृतकहरु भारत, नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाका छन् । तर, उक्त क्षेत्रमा काम गर्ने धेरैजसो कामदारहरु भने केन्या र फिलिपिन्सका रहेका छन् । वास्तविक मृतकको संख्या पनि धेरै ठूलो हुनसक्ने अनुमान लगाइएको छ ।

गार्जियनको प्रतिवेदनअनुसार उक्त तथ्यांकमध्ये ३७ जनाको मृत्यु रंगशालासम्बन्धी कामको क्रममा मृत्यु भएको थियो । तर, धेरैजसो कामदारहरुको मृत्यु भौतिक संरचनासँग सम्बन्धित छ ।

मृत्यु भएका प्रायको मृत्युको कारण प्राकृतिक र मुटुसम्बन्धी रोगलाई मानिएको छ । यसमा पनि प्रायः मृतकको सनाखतसमेत नभएको पाइएको छ । एक प्रतिवेदनका अनुसार कतारमा काम गर्ने सबै आप्रवासी कामदारमध्ये २ प्रतिशत कामदारले मात्रै वर्ल्डकपको लागि आवश्यक पूर्वाधारमा काम गरिरहेका छन् ।

रंगशालालगायत खेलसम्बन्धी पूर्वाधारमा काम गर्ने कामदारहरुको स्वास्थ्य अवस्थालाई विशेष ध्यानमा राखिन्छ । तर सडक, मेट्रो, रेललगायत पूर्वाधारमा काम गर्ने आप्रवासी कामदारको स्वास्थ्यमा विशेष ध्यान दिइएको छैन ।

कतारले सन २०२२ को नोभेम्बर अर्थात विश्वकप शुरु हुनु अगाडि नै नयाँ एयरपोर्ट, होटल र ७ वटा नयाँ रंगशाला तयार गर्नुपर्नेछ । जसअन्तर्गत राजधानी दोहामा मात्रै धेरै संरचनाहरु निर्माण भइरहेका छन् । यी सबै संरचनाहरु सबै आप्रवासी कामदारहरुमार्फत भइरहेका छन् । धेरैजसो गरिव मुलुकहरुबाट आएका आप्रवासी कामदारहरुलाई कम पारिश्रमिक दिएर बढी काम लगाउने गरिएको तथ्यसमेत बाहिर आएको छ । ्

प्रतिवेदनमा अनुसार धेरैजसो कामदारहरु न भनेबमोजिम कामको पारिश्रमिक पाउने न आफुले चाहेको अन्य कम्पनीमा काम गर्न पाउने अवस्थामा रहेका छन् । उनीहरुलाई रोजगारदाताको अनुमति विना अन्य स्थानमा काम गर्ने मौकासमेत दिईँदैन । कतिपय कामदारहरुले भने विभिन्न उपाय लगाएर उक्त बन्धनबाट उम्कन सफल रहेको पनि गार्जियनले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।- गार्जियनको सामग्री अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL