Logo

१७ अर्ब खर्चेर नारायणगढ-बुटवल सडक फराकिलो बनाइँदैं, १२ वटा ठूला पुलको काम तीव्र गतिमा हुँदैं

१७ अर्ब खर्चेर नारायणगढ-बुटवल सडक फराकिलो बनाइँदैं, १२ वटा ठूला पुलको काम तीव्र गतिमा हुँदैं



काठमाडौं । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो ।

सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार विष्टले बताए । 

उनका नुसार गैँडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ । सडकको दायाँबायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैँडाकोट क्षेत्रमा पर्ने सडक भित्ता कटान तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।

सडक किनारका रुख काटिँदै

सडक किनारका रुख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको उनेल बताए । राजमार्गबाट उत्तरतर्फका रुख कटानको काम तीव्र रुपमा भइरहँदा दक्षिणतर्फको रुख कटान भने हुन सकेको छैन । दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रुख कटान रोकिएको आयोजना प्रमुखले जानकारी दिए । 

सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ । छपान (रुख काट्न नम्बर लगाउने) भइसकेको र मन्त्रालयबाट अनुमतिसमेत पाइसकेका अवस्थामा निकुञ्जले अनुमति नदिँदा काम रोकिएको उनले बताए । सडक किनारका खम्बा निर्माण व्यवसायीमार्फत हटाइने भएकाले सो कार्य छिट्टै शुरु हुने उहाँले विश्वास व्यक्त गरे । 

नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तरगत पूर्वी खण्डमा १२ ठूला (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) पुल बन्ने आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । हाल ठूलो पूल भएका स्थानमा सडकबाट उत्तरतर्फ ११ दुई लेनका नयाँ पुल बन्नेछ । दुम्किबासको ज्यामिरेको एउटा पूल मात्रै दक्षिणतर्फ बन्ने आचार्यले जानकारी दिनुभयो । रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छोएको सो आयोजनाअन्तर्गत साना २२ पुल सबै नयाँ बन्ने आचार्यको भनाइ छ । 

चार स्थानमा जैविक मार्ग

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पहिलो खण्ड गैँडाकोटदेखि दाउन्नेसम्मको जङ्गल क्षेत्रमा चार ठाउँमा जैविकमार्ग निर्माण गरिने आचार्यले जानकारी दिए । जङ्गली जनावार वारपार गर्नका लागि चार स्थानमा अन्डरपास (सडकमुनिबाट जनावर वारपार गर्ने बाटो) बनाउने र दाउन्ने क्षेत्रमा ओभररपास (सडकको माथिबाट जनावर हिँडडुल गर्ने ठाउँ) निर्माण गरिने योजना छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले तिनका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गर्न लागिएको सूचना अधिकारी आचार्यले बताए । 

सडकमा अन्डरपासका लागि आयोजनाले केही स्थानमा अहिले रहेका कल्भर्ट नै प्रयोग गर्ने भन्दै आचार्यले केही स्थानमा भने नयाँ बनाउने तयारी रहेको बताए । नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ ।

एक सय १४ किमी सडक खण्डको काम गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल दुई खण्डमा विभाजन गरेर शुरु गरिएको हो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ र दाउन्ने-बुटवल ४९ किमी सडकलाई खण्ड २ मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । 

अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात-सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । 

सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । 

१७ अर्ब लागत

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेको सडक ५८ वर्षपछि फराकिलो हुने क्रममा छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी रहेको आयोजना प्रमुखले बताए । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ । रासस

प्रतिक्रिया दिनुहोस्