Logo

सात महिनामा सफ्टवेयर आयातमा ७३ करोड रुपैयाँ बाहिरियो, नेपालबाट भने ९ लाखको मात्रै निर्यात

सात महिनामा सफ्टवेयर आयातमा ७३ करोड रुपैयाँ बाहिरियो, नेपालबाट भने ९ लाखको मात्रै निर्यात



काठमाडौं । पछिल्लो समय विभिन्न क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले नेपालमा बिदेशबाट सफ्टवेयर आयात गर्ने क्रम पनि बढेको छ । नेपालमा केही कम्पनीले सफ्टवेयर निर्माण गरिरहेपनि नेपाल अहिलेपनि धेरैजसो क्षेत्रमा बिदेशी सफ्टवेयरमै निर्भर रहेको अवस्था छ । यसलाई पछिल्लो ७ महिनामा नेपालमा सफ्टवेयर आयातको तथ्यांकले पनि पुष्टि गर्छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ७ महिनाको तथ्यांकअनुसार यस अवधिमा नेपालमा ७३ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको सफ्टवेयर आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालले सबै भन्दा बढी चीनबाट मात्रै ७१ करोड ७२ हजार रुपैयाँ बराबरका ५ लाख ६ हजार ८ सय ३८ थान सफ्टवेयर आयात गरेको छ । यस्तै भारतबाट १ करोड १९ लाख २३ हजार रुपैयाँ बराबरको ३ हजार ९ सय ७३ थान सफ्टवेयर भित्र्याएको छ । नेपालले यस अवधिमा जर्मनीबाट ४ थान, अमेरिकाबाट २ थान, बंगलादेशबाट १ थान र अष्ट्रेलियाबाट १ थान सफ्टवेयर भित्र्याएको छ । नेपालमा उत्पादन नहुने सफ्टवेयरहरु विदेशबाट आयात हुँदै आएका छन् । यस्ता सफ्टवेयरहरु गत आर्थिक बर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

हाल नेपालमा पनि विभिन्न नेपाली सफ्टवेयर कम्पनीहरुले सफ्टवेयर निर्माण गर्दै आएका छन् । त्यसमध्ये पछिल्लो ७ महिनामा ९ लाख ४२ हजार रुपैयाँ बराबरका ४ थान सफ्टवेयर नेपालबाट पनि निर्यात भएको छ । नेपाली कम्पनीहरुले सो परिणाममा सफ्टवेयर जापान निर्यात गरेका हुन् । नेपालमा निर्मित सफ्टवेयरहरु हाल भुटान, बंगलादेशलगायत देशमा प्रयोग हुँदै आएका पनि छन् ।

नेपालले चालु आवको ७ महिनामा सफ्टवेयर खरिदमार्फत ९ करोड ४९ लाख ८१ हजार रुपैयाँ आयकर उठाएको छ । यता व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र (टीइपीसी)का अनुसार प्रत्येक आर्थिक बर्षमा नेपालले आयात गर्ने सफ्टवेयरको परिमाणमा घटबढ हुँदै आएको छ । आर्थिक बर्ष २०७२-७३ मा १ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ बराबरका सफ्टवेयर आयात भएका थिए । त्यसको पछिल्लो आवमा अर्थात आव २०७३-७४ मा भने यसको आयात झण्डै दोब्बरले बढ्दे ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबर पुगेको थियो ।

यस्तै आर्थिक बर्ष २०७४-७५ मा भने नेपालले यसको आयात घटाएर पुनः २ अर्ब ९८ करोड १५ लाख रुपैयाँ पुर्याएको थियो । यस्तै आर्थिक बर्ष २०७५- ७६ मा यसको आयात अघिल्लो आवको तुलनामा दोब्बर भन्दा बढीले बढेर ४ अर्ब ८३ करोड ६९ लाख बराबर पुगेको थियो । नेपालमा चीन, इजरायल, फ्रान्सलगायत ५५ बढी देशबाट सफ्टवेयरहरु आयात हुने गरेको टीईपीसीका तथ्यांक विश्लेषक कृष्ण बजगाईँ बताउँछन् । उनका अनुसार नेपाली सफ्टवेयर कम्पनीहरुले निर्माण गर्न नसकेका विभिन्न सफ्टवेयरहरु विदेशबाट आयात हुँदै आएका छन् ।

पछिल्लो समय नेपालले पनि समयानुसार प्रविधिमा फड्को मारिरहेको अवस्था छ । विभिन्न सफ्टवेयर कम्पनीहरुले नेपालमै सफ्टवेयर, मोबाईल एप्सलगायत निर्माण गर्ने गरेका छन् । तर सरकारले प्रविधि क्षेत्रमा उचित ध्यान नपुर्याउँदा भने यो क्षेत्र नै अन्यौलतमा रहेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

सरकारले चालु आवको बजेटमार्फत सूचना प्रविधि विकासतर्फ भन्दै ५ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमा दूरसंचार पहुँच वृद्धि र अप्टिकल फाईबर विछ्याउनका लागि विनियोजन गरिएको थियो । तर सफ्टवेयर निर्माण र प्रवद्र्धनका लागि भने सरकारले कुनै चासो नदेखाएको सम्बद्ध विज्ञहरु बताउँछन् ।

नेपालका राष्ट्रिय स्तरका सफ्टवेयर कम्पनीमध्ये प्रोफेसनल कम्प्युटर सिस्टम, मण्डला, ब्रेनडिजिट, मर्कन्टाइललगायत १० वटा कम्पनीले एकाउन्टिङ, मार्केटिङ, शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्रलाई डिजिटाइजेसन हुन उपयोगी सफ्टवेयर बजारमा ल्याइरहेका छन् । अहिले सार्क सदस्य रहेका बगंलादेश, भुटानलगायतका राष्ट्रमा नेपाली कम्पनीका बैंकिङ सफ्टवेयर प्रयोगमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL