Logo

कृषि र पूर्वाधारमा अनिवार्य लगानी गर्न बीमा कम्पनीलाई बीमा समितिको निर्देशन, सेयर लगानी र मुद्दती निक्षेपमा राख्न कडाई

कृषि र पूर्वाधारमा अनिवार्य लगानी गर्न बीमा कम्पनीलाई बीमा समितिको निर्देशन, सेयर लगानी र मुद्दती निक्षेपमा राख्न कडाई



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ । पछिल्लो समय बीमा कम्पनीहरुको लगानी सेयर बजार र बैंकहरुमा मुद्दती निक्षेपमा लगानी गर्न मात्र केन्द्रित भएपछि बीमा समितिले सम्बद्ध बीमा कम्पनीलाई चिठ्ठी नै काटेर कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्न निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

‘अहिले बीमा कम्पनीहरुले बीमा कोषमा जम्मा भएको पैसा बाणिज्य बैंकहरुमा मुद्दतीमा राखेर ब्याज आम्दानी गर्ने वा सेयर बजारमा मात्रै लगानी केन्द्रित गरेको देखियो,’ उनले भने, ‘बीमा कम्पनीहरुको उद्देश्य सेयर बजारमा लगानी गर्ने वा मुद्दती खातामा राखेर ब्याज खाने मात्र होइन, उनीहरुले राज्यलाई योगदान दिनका लागि पनि कृषि, पर्यटन तथा पूर्वाधार विकासमा लगानी गनुपर्छ ।’ बीमा समितिबाट लाईसेन्स लिएर संचालनमा रहेका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुलाई अनिवार्य रुपमा तोकिएको क्षेत्रमा लगानी गर्न निर्देशन दिएको समेत उनले जानकारी दिए ।

बीमा कम्पनीहरुले ‘बीमकको लगानी निर्देशिका २०७५’ मा भएको व्यवस्था अनुसार विभिन्न ८ ओटा क्षेत्रमा लगानी गर्नुपर्छ । तर अहिले बीमा कम्पनीको लगानीको प्रकृति हेर्दा मुद्दती निक्षेप र सेयर बजारमा मात्रै कृन्द्रित भएको देखिन्छ । तसर्थ आगामी दिनमा कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा अनिवार्य लगानी गर्न आईतबार मात्रै लिखित रुपमै सबै कम्पनीलाई परिपत्र जारी गरिएको पौडेलले जानकारी दिए । ‘लगानी निर्देशिका अनुसार बीमा कम्पनीले बीमा कोषमा जम्मा भएको रकममध्ये २० प्रतिशत लगानी कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘सोही अनुरुप अबका दिनमा बीमा कम्पनीहरुले कन्सोडियममै भएपछि ठूला अस्पाताल बनाउन सक्छन् भने सोही अनुरुप कृषि तथा जलस्रोतमा लगानी गर्नुपर्छ ।’

पौडेलका अनुसार अहिले बीमा कम्पनीहरुको लगानी अनुत्पादन क्षेत्रमा भैरहेकाले आगामी दिनमा देशको अर्थतन्त्रमा सहयोग पुगोस भन्ने उद्देश्यले पूर्वाधार क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्न परिपत्र गरिएको हो । बीमा कम्पनीहरुको लगानी सम्बन्धमा २०७५ सालमै जारी निर्देशिक अनुसार पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि हालसम्म लगानी नभएकाले यथासक्दो त्यस्ता क्षेत्रमा लगानी गर्न निर्देशन दिइएको हो ।

नेपालमा १९ ओटा जीवन बीमा कम्पनी र २० ओटा निर्जीवन बीमा कम्पनी संचालनमा छन् । तर हालसम्म २÷४ ओटा कम्पनीले मात्र कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गरेका छन् । तसर्थ निर्देशिका बमोजिम बीमा कोषको रकम मुद्दती निक्षेप र सेयर बजारमा मात्रै लगानी नगरी तोकिएका क्षेत्रमा विस्तार गर्न समितिले परिपत्र जारी गरेको हो

प्रतिक्रिया दिनुहोस्
MBL