Logo

‘माउन्ट के टू’ आरोहण टोलीलाई परिसंघको सम्मान, अध्यक्ष मोर भन्छन-यो कीर्तिमान सम्पूर्ण नेपालीहरूको लागि ठूलो गौरव

‘माउन्ट के टू’ आरोहण टोलीलाई परिसंघको सम्मान, अध्यक्ष मोर भन्छन-यो कीर्तिमान सम्पूर्ण नेपालीहरूको लागि ठूलो गौरव



काठमाडौं । निजी क्षेत्रको अग्रणी संस्था संस्था नेपाल उद्योग परिसंघले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरूलाई सम्मान तथा स्वागत गरेको छ । बिहीबार राजधानीमा आयोजित औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतीशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पुर्जा र आरोहण दललाई सम्मान तथा स्वागत गरेको हो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मोरले यो कीर्तिमान सम्पूर्ण नेपालीहरूको लागि ठूलो गौरवको विषय भएको बताए । उनले यस कीर्तिमान एवं साहसिक आरोहणबाट आफ्नो मात्र नभएर नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएको बताए ।

हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कुशलतामा “गोर्खाज” विश्वमा प्रसिद्ध नाम हो । त्यसमा पनि साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समूह अग्रणी मात्र हैन अनुकरणीय कुशलताको एक पर्यायावाचि नै भएको अध्यक्ष मोरले बताए ।

उनले भने, ‘हिमालयको संरक्षण, पर्यटन प्रवद्र्धन र विशेषतः दुर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र नभएर दुरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न र त्यस क्षेत्रको “शिक्षा स्वास्थ्य” का साथै पर्यटनको संरक्षणमा यहाँहरुले पुर्याउनु भएको योगदान अतुलनीय रहेको छ ।’

परिसंघका वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिए । उनले भने, ‘आत्मविश्वास, लगाव र कठोर मेहनतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुको साथै नेपालको नाम उच्चो बनाउनु भएको छ । कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई केही हदसम्म विश्वभर नेपालको नाम परिचित गराएर संसारभर आरोहण सफल गरेर नेपालीको नाम र नेपालीले गर्न सक्छ ।’

टुरिजम कमिटीका संयोजक पम्पा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल केटुको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकोमा बधाई व्यक्त गरे ।

टोलीले ३ माघमा साँझ ५ बजे विश्वको दोस्रो अग्लो ९८,६११ मिटर चुचुरो के टूको सफल आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL