काठमाडौ । गैरआवासीय नेपाली संघले भारतीय नाकाबन्दीका कारण नेपालका उत्पन्न मानवीय संकटमा सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले मंगलबार एक बिज्ञप्ति जारी यस्तो बताएको हो ।
एनआरएनले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा देखिएको औषधीको अभाव तथा अत्याबश्यक मानवीय सामाग्रीको परिपूर्तिका लागि सहयोग गर्ने घोषणा गरेका छन् । ‘अस्पतालमा औषधी सकिएर मानिसले जीवन गुमाउनुपर्ने अबस्था आएकोले सहयोग गर्न लागिएको हो ’ विज्ञप्तिमा उल्लेख छ ।
संघले कस्ता समाग्री जरुरी छन् भन्नेबारे परराष्ट्र मन्त्रालयसँग सूची मागिएको र सोही सूचीका आधारमा सहयोग संकलन गरी सरकारलाई उपलब्ध गराइने जानकारी दिएको छ ।
त्यस्तै जाडोका लागि आवश्यक पर्ने कम्बल र अरु सामाग्री संकलन र वितरण गर्न एउटा ‘एनआरएनए संकट सहयोग समूह’ गठन गरेको छ । यसैवीच एनआरएनले भारतीय अभोषित नाकाबन्दी तत्काल अन्त्य गर्न अपिल गरेको छ । पछिल्लो केही महिनादेखि तराई क्षेत्रमा भएका प्रर्दशन र नाकाबन्दीका कारण उत्पन्न मानवीय संकट विकराल भएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ ।
एनआरएन संघले जारी प्रर्दशनका क्रममा सयौं मानिस मरेका वा घाइते भएको र इन्धन संकटले सवारी दुर्घटना निम्त्याएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ ।