Logo

गैरकानूनी रुपमा निजी कम्पनीलाई ‘डिम्याट’ नम्बर वितरण गर्दै सिडिएससी, लाखौं लगानीकर्ताको पोर्टफोलियो जोखिममा

गैरकानूनी रुपमा निजी कम्पनीलाई ‘डिम्याट’ नम्बर वितरण गर्दै सिडिएससी, लाखौं लगानीकर्ताको पोर्टफोलियो जोखिममा



काठमाडौं । प्राथमिक सेयर (आईपीओ) को नतिजाको बारेमा जानकारी गराउने नाममा सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले गैरकानूनी रुपमा लगानीकर्ताको डिम्याट खाता निजी कम्पनीलाई वितरण गरेको छ । कुनै पनि व्यक्तिको बैंक खाता, डिम्याट नम्बरजस्ता विषय गोप्य राख्नुपर्ने भएपनि सिडिएससीले भने निजी कम्पनीलाई सबै लगानीकर्ताको डिम्याट खाता एकमुष्ट रुपमा दिँदै आएको छ ।

कानूनत धितोपत्र केन्द्रिय निक्षेप सेवा नियामावली २०६८ को बुँदा ४७ अनुसार पनि कुनै पनि लगानीकर्ताको डिम्याट खातालगायतका विवरण गोप्य राख्नुपर्दछ । जसअनुसार सिडिएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्काशनकर्ता संगठित सदस्य वा रजिष्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारी सम्बन्धमा कानूनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्ने प्रावधान छ । तर, तिनै सदस्यले पछिल्लो समय कानूनविपरित आईपीओको नजिता उपलब्ध गराउने नाममा लगानीकर्ताको डिम्याट खातालगायत सम्पूर्ण विवरण निजी कम्पनीलाई उपलब्ध गराउँदै आएका छन् ।

पछिल्लो समय जसरी नेपाल धितोपत्र बोर्ड, सिडिएससी तथा बिक्री प्रबन्धकले निजी कम्पनीलाई लगानीकर्ताको डिम्याट नम्बर उपलब्ध गराउँदै आएको छ त्यो सरासर गैरकानूनी काम भएको सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘अहिले जसरी सिडिएससी वा बिक्री प्रबन्धकले लगानीकर्तालाई जानकारी गराउने नाममा सिडी वा पेनड्राईभमा हालेर निजी कम्पनीलाई डिम्याट खाता उपलब्ध गराउँदै आएको छ त्यसबाट लगानीकर्ताको गोपनीयता भंग भएको छ,’ उनले भने, ‘अहिले कुनै पनि व्यक्तिको मेरो सेयरबाट पोर्टफोलियो हेर्न सय पटक पासवर्ड हान्न पाईन्छ त्यसरी सय पटक पासवर्ड हान्दा मिल्यो भने कुनै पनि लगानीकर्ताको गोपनियमता भंग हुन्छ र सय पटक पासवर्ड हान्दा पनि खुलेन भने एकाउन्ट नै ब्लक हुन्छ त्यसको जिम्मा कसले लिन्छ ?’ साथै लगानीकर्ताको हित संरक्षण गर्न बसेको धितोपत्र बोर्ड सिडिएसीको गलत कामको साक्षी बसेको र सिडिएससीले आफ्नो गलत कामका समाचार बाहिर नआउने भन्ने उद्देश्यले अनलाइनसँग लगानीकर्ताको डिम्याट खाता साटिरहेको समेत भट्टराईको आरोप छ ।

यसैगरी सेयर बजारका विश्लेषक एवं लगानीकर्ता दिलिप मुनाकर्मी पनि हाल सिडिएससीले जसरी आईपीओको नतिजाको नाममा निजी कम्पनीलाई डिम्याट नम्बर उपलब्ध गराएको छ त्यो सरासर गैरकानूनी काम भएको बताउँछन् । ‘अहिले जसरी सिडिएससीले लगानीकर्ताको डिम्याट खाता जस्ता सम्पूर्ण विवरण सेयर वाँडफाँडपश्चात निजी कम्पनीलाई दिँदै छ, त्यसबाट ब्रोकर तथा मर्चेण्ट बैंकको कोड नम्बरको आधारमा मेरो सेयरबाट चेक गर्न मिल्छ,’ उनले भने, ‘त्यसरी खाता नम्बर दिँदै गलत मनसाय भएका व्यक्तिले सय पटकसम्म पासवर्ड हानेर खातामा प्रवेश गरेमा वा खाता ब्लक गरिदिएमा त्यसको जिम्मा कसले लिन्छ ?’

उदाहरणका लागि कुनै पनि निजी कम्पनी वा व्यक्तिले राम्रै कामका लागि लगानीकर्ताको विवरण लिएर गयो तर उसले पछि लगत मनासायले सयपटक पासवर्ड ट्राई गरेर खाता भित्र प्रवेश गर्यो वा ब्लक गरिदियो भने त्यसको जिम्मेवारी कसले लिन्छ र उजुरी दिने निकाय कहाँ हो ?’ मुनाकर्मीको प्रश्न छ । साथै त्यसरी लगानीकर्ताको खाता दुरुपयोग भएमा त्यस्ता व्यक्तिलाई के कारबाही हुने र के क्षतिपूर्ति दिलाउने भन्नेसमेत स्पष्ट छैन । त्यस्तो अवस्थामा कानूनले नै बन्देज लगाएको विषयमा सिडिएससीले लगानीकर्ताको डिम्याट खाता निजी कम्पनीलाई दिएर गैरकानूनी कार्य गरेको उनको भनाई छ ।

यसरी जथाभावी लगानीकर्ताहरुको डिम्याट नम्बर निजी कम्पनीलाई दिदा गलत मनसाय राखेर कसैले धेरैपटकको प्रयासमा लगानीकर्ताको खातामा पहुँच पायो भने लगानीकर्ताको पोर्टफोलियो नै जोखिममा रहेको एक लगानीकर्ताले बताए । ‘ दैनिक अर्बौ रुपैयाँको कारोबार हुने सेयर बजारमा रहेका लाखौं लगानीकर्ताको पोर्टफोलियो को सुरक्षामा सिडिएससीलगायतले धयान नपुर्याएको स्पष्ट देखिन्छ । यसले जोखिम बढ्दै गएको छ’, उनले भने ।

यस विषयमा कुराकानी गर्दा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले यसअघि पनि दिँदै आएको र आफु आएपछि पनि आईपीओ बाँडफाँड श्चात लगानीकर्ताको डिम्याट खाता निजी कम्पनीलाई उपलब्ध गराउने कामले निरन्तरता पाएको बताउँछन् । तर, लगानीकर्ताको व्यक्तिगत विवरण वा डिम्याट खाता निजी कम्पनीलाई दिन हुँदैन भन्ने विषयमा आफुले धितोपत्र बोर्डसमक्ष छलफल गरेको र अहिलेसम्म केही निर्णय भैनसकेकाले उक्त कार्यले निरन्तरता पाईरहेको उनले बताए ।

‘कुनै पनि लगानीकर्ताको व्यक्तिगत विवरण वा सम्पतीको जानकारी निजी कम्पनीलाई दिन हुँन यसलाई कसरी रोक्ने भन्ने सम्बन्धमा हामीले धितोपत्र बोर्डलाई जानकारी गराईसकेका छौं,’ उनले भने, ‘अहिले सम्बन्धित बिक्री प्रबन्धकले आफु नजिकका मिडिया वा कम्पनीलाई दिँदै आएका रहेछन् यस विषयमा धितोपत्र बोर्डसँग छलफल गरेर रोक्नेछौं ।’

तर, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना भने यस अघि सिडिएससीले लगानीकर्ताको डिम्यात खाता निजी कम्पनीलाई उपलब्ध गराउँदा आफुहरुलाई नसोधी दिएको र अब रोक्नका लागि पनि सिडिएससी आफैले निर्णय लिनुपर्ने बताउँछन् ।

‘यसअघि डिम्याट खाता निजी कम्पनीलाई कसरी र किन दिईयो अब कसरी रोक्ने भन्ने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज र सिडिएससी आफैले छलफल गरेर टुङ्गो लगाउनुपर्छ,’ उनले भने, ‘अहिले लगानीकर्ताको सम्पूर्ण डिम्याट खाता के आधारमा निजी कम्पनीलाई दिइएको रहेछ यस विषयमा सम्बन्धित निकायसँग बुझ्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
MBL