Logo

नेपालमा अवैधानिक रहेको ‘भर्चुअल मुद्रा’ को विश्वव्यापी प्रयोग उच्च, यी हुन् सबैभन्दा धेरै प्रयोग गर्ने राष्ट्रहरु

नेपालमा अवैधानिक रहेको ‘भर्चुअल मुद्रा’ को विश्वव्यापी प्रयोग उच्च, यी हुन् सबैभन्दा धेरै प्रयोग गर्ने राष्ट्रहरु



काठमाडौं । पछिल्लो समय नेपालमा पनि विद्युतीय पैसा (भर्चुअल मनी) अर्थात क्रिप्टोकरेन्सीको चर्चा बढिरहेको छ । हाल नेपालमा क्रिप्टोकरेन्सीको काराबार अवैध रहेको भएपनि धेरै नेपालीले विभिन्न माध्यमबाट क्रिप्टोकरेन्सीमा लगानी गरिरहेका छन् । नेपालमा अहिले पनि क्रिप्टोकरेन्सीलाई वैधानिकता दिनुपर्छ भन्ने र वैधानिक बनाउन हुँदैन भन्नेहरुको आ–आफ्नै तर्कहरु रहेका छन् ।

नेपालमा अवैधानिक रहेको क्रिप्टोकरेन्सीको प्रयोग भने पछिल्लो समय विश्वमा तीब्र रुपमा बढेको छ । भर्चुअल मुद्राको रुपमा रहेको बिटक्वाइनको मूल्य अहिले ४८ लाख रुपैयाँ पुगको छ भने अन्यको मूल्य दिनप्रतिदिन उकालो लागिरहेको छ । भर्चुअल मुद्राको ‘मार्केट भ्यालु’ अहिलेको उचाईमा पुग्नुको प्रमुख श्रेय नै क्रिप्टोकरेन्सीको वैधानिकता पाएका देशलाई जान्छ ।

फोनमार्फत नै भुक्तानी तथा आदानप्रदान गर्न सजिलोका साथै भरिलो भएकाले पनि अफ्रिकाको अर्थव्यवस्थामा क्रिप्टोकरेन्सीको प्रयोग बढिरहेको छ । विभिन्न ७४ देशहरुमध्ये सबैभन्दा बढी नाइजेरियनहरुले धेरैभन्दा धेरै क्रिप्टोकरेन्सीको प्रयोगसँगै खरिद गर्ने गरेको बताएका छन् । स्ट्याटिस्टाको एक सर्भेअनुसार एक तिहाई नाइजेरियनहरुले यसको प्रयोग गरेको पाईएको हो ।

नाइजेरियामा पैसा पठाउने पुरानो परम्परा बढी खर्चिलो हुने भएकाले पनि वैदेशिक रोजगारीमा गएका युवादेखि धेरै घरपरिवारलाई क्रिप्टोकरेन्सीले आकर्षण गरिरहेको बताइन्छ । नाइजेरियनहरुले विभिन्न सरसामान खरिद गर्न तथा विभिन्न किसिमका भुक्तानी गर्न आफ्नो मोबाइल पनि उत्तिकै मात्रामा प्रयोग गर्ने गर्दछन् ।

यस्तै पछिल्लो समय विभिन्न व्यवसायहरुले भुक्तानीको नयाँ तरिका भन्दै क्रिप्टोप्लगिंगको प्रयोग गरेका छन् । जसका कारण पनि नाइजेरियामा प्राय मानिसहरु क्रिप्टोकरेन्सीलाई हरेक दिनको कारोबारका लागि उत्तिकै महत्वका रुपमा लिने गर्दछन् । यस्तै धेरै क्रिप्टोकरेन्सीको प्रयोग हुने दोस्रो र तेस्रो देशमा भने भियतनाम र फिलिपिन्स परेका छन् । यी देशमा विप्रेषण आप्रवाहमा पनि एक ठूलो भूमिका निभाएको बताइएको छ ।

विटकोइन डट कमका अनुसार फिलिपिन्सको केन्द्रीय बैंकले विभिन्न रेमिट्यान्स ट्रान्सफर कम्पनीहरुलाई क्रिप्टोकरेन्सीको एक्सचेन्स सुविधा दिएको छ । यस्तै यहाँको सरकारले पनि क्रिप्टोकरेन्सको वैधानिकतासँगै प्रयोग बढाउन आफै बोन्ड्स डट पीएच नामक ब्लकचेन मोबाईल एप पनि संचालनमा ल्याएको छ । यस्तै फिलिपिन्स युनियन बैंकले पनि मनिलामा बिटकोईन एटिमसमेत संचालनमा ल्याएको छ ।

अफ्रिका तथा दक्षिण पूर्वी एशियालपछि ल्याटिन अमेरिका भने सबैभन्दा धेरै क्रिप्टोकरेन्सी प्रयोगकर्ता भएको स्थान मानिन्छ । जसमा पेरुमा मात्रै १६ प्रतिशत बढी क्रिप्टोकरेन्सीको प्रयोग हुने गर्दछ । यस्तै ब्राजिल, कोलम्बिया, अर्जेन्टिना, मेक्सिको र चिली पनि क्रिप्टोकरेन्स प्रयोग दोहोरो अंकमा गर्ने राष्ट्रहरुको सूचीमा छन् ।

क्रिप्टोकरेन्सीलाई ग्रहण गर्ने मुलुकहरुको सूचीमा भने पहिलो स्थानमा युरोपियन राष्ट्रहरु रहेका छन् । ग्रिसका ११ प्रतिशत जनताले क्रिप्टोकरेन्सीलाई ग्रहण गर्ने गरेको विभिन्न तथ्यांकहरुले पुष्टि गरेका छन् ।
सर्भेका अनुसार जापान यस्तो देश हो जहाँका धेरै कम मानिसहरुले क्रिप्टोकरेन्सीको प्रयोग र खरिद गरेको बताएका छन् । जापानका ४ प्रतिशत मानिसहरुले मात्रै क्रिप्टोकरेन्सीको बारेमा जानकारी भएको बताएका थिए । यस्तै डेनमार्क पनि धेरै कम क्रिप्टोकरेन्सी प्रयोगकर्ता भएको देश हो । –अन्तराष्ट्रिय समाचारहरुमा आधारित अनुवाद

प्रतिक्रिया दिनुहोस्