Logo

निर्यात ७ प्रतिशतले बढ्दा कोरोनाका कारण आयात वृद्धिदर स्थिर, ७ महिनाको व्यापारघाटा ७ खर्ब ३३ अर्ब

निर्यात ७ प्रतिशतले बढ्दा कोरोनाका कारण आयात वृद्धिदर स्थिर, ७ महिनाको व्यापारघाटा ७ खर्ब ३३ अर्ब



काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालले गर्ने आयातको वृद्धिदर स्थिर रहेको छ । लामो समयदेखि कोरोनाका कारण रोकिएको आयात निर्यात व्यापारमा पछिल्लो समय विश्वबजारमै नेपाली उद्योगी व्यवसायीले आयात गर्ने कच्चा पदार्थ तथा तयारी वस्तुको अभाव भएसँगै निर्यातमा संकुचन आएको हो ।

अघिल्ला बर्षसम्म नेपालले गर्ने आयात वृद्धिदर उच्च भएपनि चालु आर्थिक बर्षको ७ महिनामा भने ०.०१ प्रतिशतले मात्र बढेको छ । विशेषगरी नेपाली उद्योगीले आफ्ना उद्योगका लागि आवश्यक कच्चा पदार्थ अर्डर गर्दा पनि पाउन छाडेपछि नेपालमा हुने आयात घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ७ महिनाका तथ्यांक अनुसार नेपालले पछिल्लो ७ महिनामा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशतले मात्रै बढी हो । गत आवको सोही अवधिमा नेपालले ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको थियो ।

यस्तै नेपालले समिक्षा अवधिमा निर्यातित वस्तुको व्यापरमा भने राम्रो सुधार गर्दै गएको छ । गत आर्थिक बर्षको पहिलो ७ महिनामा ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । तर चालु आवको सोही अवधिमा नेपालले यस्तो निर्यातित वस्तुको वृद्धदर ७ प्रतिशतले बढाउँदै ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको पुर्याएको छ ।

यसरी नेपालले गर्नै आयात निर्यातको सन्तुलनाई केलाउँदा नेपालले यस अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ०.६६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा नेपालले ७ खर्ब ३८ अर्ब ६३ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL