Logo

बिदेशबाट चामल किन्न मात्रै ७ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ सकियो, कृषिप्रधान देशका लागि टिठलाग्दो तथ्यांक

बिदेशबाट चामल किन्न मात्रै ७ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ सकियो, कृषिप्रधान देशका लागि टिठलाग्दो तथ्यांक



काठमाडौं । कृषिप्रधान देश भनेर चिनिएको नेपालमा देशको मुख्य खाधान्नका रुपमा रहेको चामल आयतको उदेकलाग्दो अवस्था देखिएको छ । नेपालको ६७ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेको सरकारी तथ्यांकले बताइरेपनि चामल आयातको तथ्यांकले भने त्यसलाई गिज्याइरहेको छ ।

। कृषिप्रधान देशका रुपमा कृषिलाई प्राथपमिकतामा राखेको सरकारले बताउँदै आएपनि नेपालमा चामल आयातको ग्राफ भने उकालो लाग्ने क्रम रोकिएको छैन् ।

भन्सार विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक बर्षको ७ महिनामा अर्थात गत साउनदेखि माघ महिनासम्म मात्रै नेपालमा २२ करोड ९९ लाख ८७ हजार ३ सय ८६ किलो चामल विदेशबाट आयात भएको छ । जुन नेपाली रुपैयाँ १७ अर्ब ३० करोड २० लाख बढीको हो ।

विभागका अनुसार चालु आवको ७ महिनामा गत आवको सोही अवधिको तुलनामा चामल आयात ३६ प्रतिशतले बढेको हो । यता भन्सार विभागका अनुसार गत आर्थिक बर्षभरी नेपालले ३३ अर्ब ३५ करोड रुपैयाँ बराबरको चामल विदेशबाट आयात गरेको थियो । तर, आर्थिक बर्ष २०७५÷७६ मा भने नेपालले ३२ अर्ब २१ करोड ५० लाख रुपैयाँ बराबरको चामल आयात गरेको देखिन्छ । यसरी तथ्यांकलाई केलाउँदा गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षको तुलनामा चामल आयात ३ दशमलव ५ प्रतिशतले बढेको देखिन्छ । यस्तै आर्थिक बर्ष २०७४÷७५ मा पनि नेपालले २८ अर्ब ९० करोड ९९ लाख रुपैयाँ बराबरको चामल आयात गरेको देखिन्छ ।

पछिल्लो ३ बर्षको तथ्यांकलाई केलाउँदा नेपालमा चामलको खपत प्रतिबर्ष २ देखि ३ अर्ब रुपैयाँ बराबरले बढ्दै गएको पाईन्छ भने उच्च आयात हुने १० बस्तुमध्ये पाँचौ देखि छैठौं वस्तुमा पर्दै आएको छ ।
नेपालले भारत, अमेरिका, चीन, ईटाली कोरियालगायत देशहरुबाट विभिन्न ७ शिर्षकमा चामल भित्र्याउने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)ले जानकारी दिएको छ । केन्द्रका अनुसार नेपालले धान, चामल, टुक्रिएको चामललगायत शिर्षकमा विश्वका १० भन्दा बढी देशबाट आयात गर्ने गरेको छ ।

पछिल्ला केही तथ्यांकअनुसार नेपालमा हरेक नेपालीले औशतमा बार्षिक १ सय ३७ दशमलव ५ किलो धान उपभोग गर्ने गरेको पाईन्छ । तर पछिल्लो ५४ बर्षको तथ्यांकलाई केलाउँदा धान उत्पादनको उत्पादकत्व वृद्धिदर औशतमा १ दशमलव ५ प्रतिशत हुँदा जनसंख्या वृद्धिदर २ दशमलवव ३ प्रतिशत छ । तर, नेपालमा धानको उत्पादन दर बर्षेनी घट्दै गईरहेको छट । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार पछिल्लो समय नेपालमा धान उत्पादन घट्नु र जनसंख्या बढ्नुले चामलको माग धान्न सकिरहेको अवस्था छैन ।

विश्वको १६ करोड ७० लाख हेक्टर जमिनमा धान खेति भई ७६ करोड ९६ लाख मेट्रिक टन उत्पादन हुँदै आएको पाईन्छ । विश्वमा उत्पादन भएको करिव ९० प्रतिशत धान त एशियाले मात्रै खपत गर्ने गर्दछ । विश्वमा धेरै धान उत्पादन गर्ने देशहरुमा क्रमशः चीन, भारत, ईन्डोनेशिया, बंगलादेश, भियतनामलगायतका देशहरु पर्दछन् । नेपाल पनि धान उत्पादन गर्ने देशमा पर्ने भएपनि ५० देखि ६० प्रतिशत खपत विदेशबाट आयात भएको चामलले धान्ने गरेको छ ।

विज्ञहरु नेपालमा भात खाने प्रवृत्ति बढ्दै जाँदा अन्य खाध बालीको उत्पादन र उपयोग खुम्चिएको बताउँछन । ‘पहिले मकै, कोदो, गहुँ, फापरजस्ता खाधान्न पनि धेरैले मुख्य खाधान्नका रुपमा उपयोग गर्ने गरेपनि पछिल्ला केही वर्षयाता नेपालीमा भातमात्रै खाने प्रवृत्ति बढेको छ । नेपालको उत्पादन खुम्चिदा र र भाते प्रवृत्तिले आयात पनि बढेको हो, यो कृषिप्रधान देशका लागि टीठलाग्दो अवस्था होे’, एक कृषि विज्ञले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL