Logo

धितोपत्र बोर्डमा सूचीकृत सबै संस्थालाई विवरण चुस्त-दुरुस्त राख्न बोर्डको ११ बुँदे निर्देशन, पालना नगरे कडा कारवाही (बूँदासहित)

धितोपत्र बोर्डमा सूचीकृत सबै संस्थालाई विवरण चुस्त-दुरुस्त राख्न बोर्डको ११ बुँदे निर्देशन, पालना नगरे कडा कारवाही (बूँदासहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डमा सूचीकृत संगठित संस्थाहरुको अनुगमन गर्ने भएको छ । बोर्डमा सूचीकृत सबै संस्थालाई फागुन मसान्तभित्र विवरण चुस्त–दुरुस्त राख्न ११ बुँदे निर्देशन दिएको हो । बोर्डले दिएको निर्देशन पालना नगर्ने संस्थालाई धितोपत्र सम्बन्धी ऐन(२०६३ को दफा १०१ बमोजिम कारबाही तथा दण्ड जरिवाना हुने जनाएको छ ।

बोर्डको निर्देशनमा सबै संस्थाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई संगठित संस्थाको सञ्चालक तथा वित्तीय अवस्थाको बारेमा सुसुचित गराउन, अध्ययन तथा अनुसन्धानमा सहजता ल्याउन, सुसुचित भएर लगानी गर्न र पुँजीबजारलाई स्वच्छ र प्रभावकारी बनाउन धितोपत्र ऐन २०६३ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरेको उल्लेख छ ।

बोर्डको निर्देशनमा आफ्नो वेवसाइटमा संस्थाको पछिल्लो ५ वर्षको प्रमुख वित्तीय परिसुचकहरु (संस्थाको पुँजी, बार्षिक आम्दानी, खर्च, जगेडा कोष, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति सेयर नेटवर्थ र लाभांश) लगायतका विवरणहरुको चार्ट सहितको प्रोफाइल बनाइ वेवसाइटमा राख्न भनेको छ ।

निर्देशनमा संगठित संस्थाहरुले आफ्नो वेवसाइटमा संस्थाको परिचय, सञ्चालक समिति, व्यवस्थापन समिति, गुनासो सुन्ने अधिकारी, अनुपालन अधिकारी र कम्पनी सचिवको नाम, फोन नम्बर दुरुस्त राख्न भनेको छ ।

संस्थाले धितोपत्र बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची-१६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई आफ्नो वेवसाइटमा राखी बोर्डमा विद्युतीय माध्यमबाट जानकारी गराउन निर्देशन दिएको छ ।

संस्थाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम प्रत्येक तीन महिनाको अनुसूची–१ मा उल्लेखित विवरणहरु उक्त त्रैमासिक अवधि समाप्त भएको तीनदिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन दैनिक पत्रिका र वेवसाइटमा पनि राख्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL