Logo

अग्रिम भुक्तानी दिएर भारतसँग कोरोना खोप किन्ने मन्त्रिपरिषदको निर्णय, २० लाख डोज खोप प्रतिडोज ४ डलर पर्ने

अग्रिम भुक्तानी दिएर भारतसँग कोरोना खोप किन्ने मन्त्रिपरिषदको निर्णय, २० लाख डोज खोप प्रतिडोज ४ डलर पर्ने



काठमाडौं । सरकारले अग्रिम भुक्तानी दिएर भारतीय कम्पनीसँग कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) खरिद गर्ने निणर्य गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्नका लागि अग्रिम भुक्तानी दिने निणर्य गरेको हो ।

भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति यसअघि नै भएको भएपनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी हुनुपर्ने अडान राख्दै आएको थियो ।

प्रचलित खरिद ऐन र नियमावलीमा खरिद गर्न लागेको सामानको ८० प्रतिशतसम्म मात्रै अग्रिम भुक्तानी दिन सकिने प्रावधान छ । सिरम इन्स्टिच्यूटले खरिद गरिने खोपको पूणर् मूल्यको अग्रिम भुक्तानी नभए ब्याच नम्बर जारी गर्न नसकिने अडान लिएपछि मन्त्रिपरिषदले अग्रिम भुक्तानी दिएर खोप खरिद गर्ने निणर्य गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि प्रतिक्रिया दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिद गर्ने सम्बन्धमा समस्या समाधान गर्न मन्त्रिपरिषदले बाधा अड्चन फुकाएको बताए ।

सरकारले सिरम इन्स्टिच्यूटसँग २० लाख डोज कोभिसिल्ड खरिद गर्न लागेको छ । खोप खरिदका लागि ८० प्रतिशत मूल्य राष्ट्र बैंकमार्फत अग्रिम पडाइने मन्त्री त्रिपाठीले बताए । ‘त्यसपछि कम्पनीले ब्याच नम्बर हाल्न शुरु गर्छ । सामान पठाउनु अघि बाँकी २० प्रतिशत रकम पनि भुक्तानी गरिसक्छौं,’ मन्त्री त्रिपाठीले भने ।

मन्त्रिपरिषद बैठकले अग्रिम भुक्तानी दिने निणर्य गरेपछि खोप खरिदको प्रक्रिया अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । सिरम इन्स्टिच्यूटले प्रतिडोज ४ अमेरिकी डलर (मंगलबारको विनिमय दरअनुसार ४६६ रुपैयाँ ४ पैसा)मा कोभिसिल्ड उपलब्ध गराउने सहमति जनाइसकेको छ । जसअनुसार २० लाख डोज खोप खरिद गर्दा करिब ९३ करोड २८ लाख रुपैयाँ खर्च हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL