Logo

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई डब्ल्युएचओले दियो आपतकालीन प्रयोगको अनुमति, नेपालमा धमाधम यही खोप लगाइदैं

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई डब्ल्युएचओले दियो आपतकालीन प्रयोगको अनुमति, नेपालमा धमाधम यही खोप लगाइदैं



काठमाडौं । नेपालमा हाल कोरोनाविरुद्धको खोप अभियान अन्तरगत उपयोग भइरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगको सूचीमा समावेश गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले भारत र दक्षिण कोरियामा उत्पादन गरेका दुवै खोपको प्रभावकारिता अध्ययनपछि दुवै संस्करणलाई आपतकालीन प्रयोगको अनुमति प्रदान गरेको हो। योसँगै अब डब्ल्युएचओको कोभ्याक्स कार्यक्रम पनि कार्यान्वयनमा आउने भएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले छिटो र न्याय संगत वितरणका लागि अनुमति प्राप्त खोपको उत्पादन पनि वृद्धि गर्नुपर्ने बताएका छन् । आपतकालीन प्रयोगको सूचीमा समावेश भएपछि यो खोप कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वभर वितरणको बाटो पनि खुलेको डब्ल्युएचओले जनाएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप दक्षिण कोरियामा एसके बायो कम्पनी र भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरिराखेका छन्। दुवै कम्पनीले एउटै खोप उत्पादन गरिरहेको भए पनि अलगअलग उत्पादन संयन्त्रमा निर्मित भएका कारण दुवै खोपबारे समीक्षा गरी मञ्जुरी दिइएको डब्ल्युएचओले जनाएको छ। आपतकालीन प्रयोगको सूचीमा समावेश गर्न यसको असर तथा प्रभावकारिताबारे अध्ययन गरिएको थियो ।

यसअघि डब्ल्युएचओले बेलायतको फाइजर बायोएनटेक कम्पनीको खोपलाई आपतकालीन प्रयोगको अनुमति प्रदान गरिसकेको थियो । नेपालमा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेको खोप अहिले लगाउने कार्य चलिहरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL