Logo

बैंक तथा वित्तीय संस्थामाथि प्रधानमन्त्रीको आक्रोस-‘महामारीमा पनि एकलौटी कमाएर उच्च बोनस खानुपर्ने, उद्योग व्यवसाय जोगाउनु पर्दैन ?’

बैंक तथा वित्तीय संस्थामाथि प्रधानमन्त्रीको आक्रोस-‘महामारीमा पनि एकलौटी कमाएर उच्च बोनस खानुपर्ने, उद्योग व्यवसाय जोगाउनु पर्दैन ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण अन्य उद्योग व्यवसाय धराशयी हुँदा पनि बैंक, वित्तीय संस्था तथा इन्स्यारेन्स कम्पनीले उच्च मुनाफा गर्दै सोहीअनुरुप लाभांश वितरण गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

कोरोना महामारीको समयमा एकआपसमा सहकार्य गर्दै सबै खालका उद्योग व्यवसाय जोगाउनुपर्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाले एकलौटी रुपमा नाफा आर्जन गर्दै सोहीअनुरुप लाभांश वितरण गरिरहेको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

‘यसको मतलब मैले बैंक तथा वित्तीय संस्थाले नाफा आर्जन नै गर्नु हुँदैन भनेको होइन तर, यस्तो अवस्थामा ऋणी (उद्योगी व्यवसायी)लाई मर्कामा पारेर नाफा मात्रै आर्जन गर्ने नाममा अन्य दायित्व विर्सनु हुँदैन,’ नेपाल राष्ट्रिय उद्योग तथा व्यापार महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘बैंक वित्तीय संस्थाले ठूला भवन बनाएर आम्दानी हुने होइन तसर्थ भविश्यमा पनि आम्दानी गरिरहन अहिलेको महामारीमा कर्जा लिएका उद्योगी व्यवसायीलाई जोगाउने काम गर्नुहोला ।’

अहिलेको अवस्थामा बैक तथा वित्तीय अवस्थामा मात्रै फस्टाएको भन्दै कम नाफा आर्जन गर्दै उद्योग व्यवसाय जोगाउनेतर्फ पनि केन्द्रित रहन सम्बद्ध पक्षलाई आग्रह गरेका थिए । कार्यक्रममा आफुले दैनिक १८ घण्टासम्म खटिएर काम गरेको बताउँदै अबको २ बर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुग्ने जानकारी दिए ।

‘अहिले पनि केही मित्रहरु (राजनीतिज्ञ) ह्वीस्कीको नसामा लठ्ठ परेर बसेका होलान तर, मैले देश बनाउने अठोट गरेर आएको छु त्यसैले दैनिक १८ घण्टा देश विकास गर्ने मार्गचित्र कोर्दै छु,’ उनले भने । कार्यक्रममा उनले उद्योगी व्यवसायीसमक्ष आफ्ना कमीकमजोरी देखाएर आलोचना गर्न आग्रह गर्दै कसैको पनि विरोध गर्न नहुने बताए ।

यसैगरी महासंघको आज भएको भेलाले संयोजक सहित ९ सदस्यीय सचिवालय तथा देशभरबाट ८५१ सदस्यीय केन्द्रिय कमिटि चयन गरेको छ । महासंघको संयोजकमा व्यवसायी एवं सांसद एलपी साँवा लिम्बु रहेका छन् भने सहसंयोजकमा भिमलाल पौड्याल र परशुराम अधिकारी रहेका छन् । यसैगरी सचिवालय सदस्यहरुमा डिवी वस्नेत, निरज राई, मेघनाथ गौतम, खेमनिधि लोहनी, बालकृष्ण शिवाकोटी र दिनेश जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL