Logo

गभर्नरको ३ महिने प्रतिवद्धताले नेप्सेमा उछाल, परिसूचक २६ सय अंक नजिक पुग्दा सबैजसो लघुवित्तमा १० प्रतिशतको वृद्धि

गभर्नरको ३ महिने प्रतिवद्धताले नेप्सेमा उछाल, परिसूचक २६ सय अंक नजिक पुग्दा सबैजसो लघुवित्तमा १० प्रतिशतको वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गरेको भोलिपल्ट नेप्सेमा उत्साह आएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्धवार्षिक समिक्षामार्फत अबको ३ महिना मार्जिन लेण्डिङ, सीआरआर, एसएलआर, लगायत मौद्रिक नीतिका कुनै पनि वित्तीय औजारमा परिवर्तन नगर्ने प्रतिवद्धता जाहेर गरेसँगै लगानीकर्तामा थप उत्साह देखिएको हो ।

सोमबार बजार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसुचकमा ९२.४२ अंकको वृद्धि भएको छ । बजार बन्द हुँदा करिव २६ सय अंक नजिक पुगेर रोकिएको बजारले आजपनि नेप्से परिसुचकमा थप अर्को रेकर्ड कायम गरेको छ । बजारमा लघुवित्त तथा बीमा समुहका परिसुचकहरु उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक बढ्न पुगेको हो ।

सोमबार उच्च वृद्धि हुने कम्पनीको सूचीमा लघुवित्त क्षेत्रका कम्पनीको वर्चश्व रहेको छ । सो दिन लघुवित्त समुहको परिसुचक ३७) अंकले बढ्दा बजारमा सो समुहका प्रायःजसो कम्पनीको सेयर १० प्रतिशत आसपास बढ्न पुगेका छन् । यसैगरी बजारमा जीवन बीमा समुहको परिसुचक ६९८ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचकमा ४४७ अंकको वृद्धि भएको छ ।

बजारमा सबै समुहका परिसुचकमा वृद्धि आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ५७ अंकले बढ्दा उत्पादनमुलक समुह १५९, अतिरिक्त समुह ६२, व्यापार ७१ र विकास बैंक समुहको परिसुचकमा ५० अंकको वृद्धि भएको छ ।

करिव १ सय अंकले बढेको बजारमा १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा २०५ कम्पनीको २ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL