Logo

पाम आयल निर्यातमा भारतको अवरोध : नेपाली व्यवसायीको अर्बौ रुपैयाँ जोखिममा, २५ हजार टन कच्चा तेल गोदाममै थन्कियो

पाम आयल निर्यातमा भारतको अवरोध : नेपाली व्यवसायीको अर्बौ रुपैयाँ जोखिममा, २५ हजार टन कच्चा तेल गोदाममै थन्कियो



काठमाडौं । नेपालबाट पाम आयल निर्यातमा भारतको अवरोध कायमै रहँदा व्यवसायीको अर्बौ रुपैयाँ जोखिममा परेको छ । भारतीय अवरोधका कारण निर्यातका लागि तयार पार्न राखिएको २५ हजार टन कच्चा तेल गोदाममै थन्किएको नेपाली व्यवसायीको गुनसो छ । व्वसायीहरु पाम आयल आयातमा भारतले लगाएको रोक अझै खुल्ने सम्भावना कम रहेको बताउँछन् ।

नेपाली पक्षले विभिन्न समयमा पाम आयल निर्यातमा रहेको अवरोध हटाउन भारतीय पक्षसँग छलफल गर्न खोजेपनि भारतीय पक्षले आलटाल गर्दै पछि हटेपछि व्यवसायीको अर्बौ रुपैयाँको लगानी डुब्ने चिन्ता बढेको छ ।

नेपाली पक्षले बेलाबेलामा पाम आयलको निकासीका लागि भारतीय पक्षसँग कुटनीतिक छलफल गर्न चाहेपनि भारतीय पक्ष सहमत नहुँदा हाल हजारौं टन पाम आयल के गर्ने भन्ने अन्यौलमा व्यवसायीहरु रहेका छन् । नेपाली व्यवसायीहरुले बाहिरबाट कच्चा तेल आयात गरी त्यसमा भ्यालु एड गरेर भारत निर्यात गर्ने गरेको पाम आयलको निर्यात हाल ठप्प छ ।

नेपालले सहसचिवस्तरिय बैठक अघि बढाएपनि भारतीय पक्षले आलटाल गर्दा छलफलनै हुन नपाएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार नेपाली पक्षले यसको आग्रह गर्दै आएपनि भारतले भने उचित चासो देखाएको छैन । ‘केही पहिले परराष्ट्र मन्त्री प्रदिव ज्ञवाली भारत भ्रमण गएका बेला े कुरा उठाइएको हो,’ उनले भने, ‘तर त्यसबेलासमेत भारतीय पक्षले उचित चासो नदेखाएको पाइयो ।’

भारतले गत बर्ष पुस २२ मा नेपालबाट आयात हुने पाम तेलको आयातमा प्रतिवन्ध लगाएको थियो । त्यसपछि सरकार, निजी क्षेत्र र स्वयं भारतीय आयातकर्ताले बारम्बार आग्रह गरेपछि भारतले माघ तेस्रो साताबाट पाम आयल निकासी खुकुलो गरेको थियो । पुनः भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी)ले बैशाख ३० मा साफ्टा सुविधाअन्तर्गत नेपाल र बंगलादेशबाट ठुलो परिमाणमा आयात हुने प्रशोधित पाम तेलको आयातमा रोक लगाएको थियो । त्यसयता नेपालबाट पाम तेलको निर्यात शुन्य छ । व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार गत बैशाखदेखि नेपालबाट हुने पाम तेलको निर्यात शुन्य भएपनि आयात भने भइरहेको पाईएको छ ।

तर नेपालका व्यवसायीहरुले पाम आयलको कच्चा पदार्थ आयात गरेर त्यसमा भ्यालु एड गरेर निकासी गर्दै आईरहेका थिए । विभिन्न देशबाट आयात गरी भारतमा निकासी हुँदै आएको पाम आयलले नेपालको निर्यात व्यापारमा पछिल्लो ३ बर्षयता राम्रो परिणाम दिँदै आएको थियो ।

यही कुरालाई ध्यानमा राखेर प्रतिवन्ध लाग्नुअघि आयात गरिएको कच्चा पाम आयल ठुलो मात्रामा अलपत्र परेको नेपाली व्यवसायीहरु बताउँछन् । व्यवसायी प्रदीप मुरारकाका अनुसार हाल नेपाली व्यवसायीहरुसँग मात्रै २० देखि २५ हजार टन कच्चा पाम तेल गोदाममा छ ।

भारतले कच्चा पाम तेलको निकासीमा प्रतिवन्ध लगाएपछि कच्चा तेल हाल नेपाली बजारमै खपत गर्ने उद्धेष्य रहेको उनको भनाई छ । उनका अनुसार अब बाहिरबाट आयात गरिएको कच्चा तेललाई प्रशोधन गर्दै खपत बढाउने योजना छ ।

नेपालको चाउचाउ प्mयाक्ट्रीलगायत क्षेत्रमा पाम तेलको खपत हुने गरेको छ । जसका कारण नेपालमा पनि हाल प्रतिमहिना २ हजार टन पाम तेलको खपत हुने तथ्यांक रहेको व्यवासायी मुरारका बताउँछन् । उनका अनुसार मासिक २ हजार टनका हिसावले कच्चा पाम तेल नेपालमै खपत हुँदा आगामी १ देखि डेढ बर्षमा भन्डारमा रहेको कच्चा पामतेल स्टक क्लियर हुनेछ । आफुहरुले सरकारसँग यसको पहल गरिदिन माग गरेको र सरकारले पनि सोहीअनुसार काम गरिरहेको उनको भनाई छ । ‘हामीले सरकारसँग भारतले लगाएको प्रतिवन्ध फुकुवा गर्न पहल गर्न माग गरेका हौं,’ उनले भने, ‘सरकारले पनि बेलाबेलामा गरिरहेकै हो, यसमा सरकारको पनि दोष छ भन्न मिल्दैन, भारतीय पक्षले नै नमानेपछि हाम्रो भन्नु के रह्यो र ?’

यता टीईपीसीका अनुसार आर्थिक बर्ष २०७५÷७६ मा मात्रै नेपालले १० अर्ब ३३ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको पाम तेल निर्यात गरेको थियो । यस्तै त्यसको पछिल्लो बर्ष अर्थात आव २०७६÷७७ मा भने १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात गरेको थियो ।

जुन अघिल्लो बर्षको तुलनामा ८ अर्बले बढेको थियो । तर तालु आवको ७ महिनामा पनि नेपालबाट पाम आयल फाट्टफुट्ट मात्रै भएको पाईएको छ । गत असारदेखि नै बन्दजस्तै रहेको पाम तेलको निर्यात भदौ महिनामा भने ४ लाख ४२ हजार ८ सय रुपैयाँ बराबरको भएको पाईएको छ । त्यसपछिका महिनामा पनि पाम आयलको निर्यात शुन्य नै छ ।

चालु आवको असार अघि नेपालबाट जेठ महिनामा ६९ लाख ५९ हजार, बैशाखमा १५ करोड ५६ लाख ६३ हजार, चैतमा १४ करोड ४८ लाख र फागुनमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो ।

नेपाली व्यवसायीहरुले यसअघि ईन्डोनेशिया, मलेसिया, पपुवा न्युगिनी, युक्रेन, अर्जेन्टीनालगायत देशबाट कच्चा पाम आयल आयात गरी नेपालमा प्रशोधन गर्ने गरेका थिए । तर प्रशोधित नेपाली पाम तेलको आयातकर्ता भने भारतमात्रै हुँदा पनि हाल समस्या निम्तिएको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL