Logo

शाक्यले सम्हाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी, बिद्युतको माग र खपत बढाउने प्रतिबद्धता

शाक्यले सम्हाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी, बिद्युतको माग र खपत बढाउने प्रतिबद्धता



काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा पदभार ग्रहण गरेका छन् । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेपछि उनले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै शाक्यले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपुर्ण रहेको बताए । शाक्यले बिद्युतका माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताए । विद्युत् प्रसारण तथा वितरण र खपत लगायत समग्र समस्या समाधानका निम्ति छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।

झन्डै ३ दशक अनुभव भएका शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रुपमा लिइन्छ । यसअघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्