Logo

डिजिटल पेमेन्ट बढेपनि रिचार्ज कार्डको उपयोग घटेन, ६ महिनामै ५१ हजार किलो रिचार्ज कार्ड आयात

डिजिटल पेमेन्ट बढेपनि रिचार्ज कार्डको उपयोग घटेन, ६ महिनामै ५१ हजार किलो रिचार्ज कार्ड आयात



काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल पेमेन्टको उपयोग ह्वात्तै बढेको विभिन्न तथ्यांकले पुष्टि गरिरहेको छ । हिजोआज मोबाइल, टेलिभिजनको सेवा रिचार्ज गर्न रिचार्ज कार्ड खोज्ने भन्दा पनि अनलाइन भुक्तानी, मोबाइल वालेटबाट भुक्तानी तथा इन्टरनेट बैंकिङको प्रचलन बढिरहेको छ ।

तर, दाल चामल, नुनदेखि सुनसम्म आयात गरेर चलिरहेको नेपालले चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा मात्रै करिव ५१ हजार किलो रिचार्ज कार्ड आयात गरेको छ । भन्सार विभागका अनुसार नेपालले गत साउनदेखि पुष मसान्तसम्म मात्रै २ करोड २६ लाख ५१ हजार रुपैयाँ बराबरका ५० हजार ९ सय ६ किलो रिचार्जकार्ड आयात गरेको हो ।

नेपालमा मुख्यतया मोबाईल र टेलिभिजन रिचार्ज गर्न रिचार्जकार्डको उपयोग गरिन्छ । यस्ता रिचार्ज कार्डहरु नेपालले भारत, चीनसँगै क्यानडाबाट ल्याउने गरेको छ । पछिल्लो समय नेपालमा विभिन्न सेवाको रकम भुक्तानी इन्टरनेट, मोबाईल बैंकिङ, एप्सलगायतमार्फत बढ्दै जाँदा रिचार्ज कार्डको उपयोग भने घट्दै गएको छ । तर, भन्सार विभागको रिचार्ज कार्ड आयातको तथ्यांकअनुसार भने अझै पनि रिचार्ज कार्डको मागमा कमी नआएकोे देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा नेपालमा भारतबाट ६ लाख १३ हजार रुपैयाँबराबरको ३ सय ४० किलो रिचार्ज कार्ड आयात भएको छ । यस्तै छिमेकी देश चीनबाट पनि नेपालले यस अवधिमा २ करोड २० लाख ३९ हजार रुपैयाँ बराबरको ५० हजार ५ सय ६६ किलो रिचार्ज कार्ड आयात गरेको हो ।

पछिल्लो ६ महिनामा आयात गरिएका रिचार्ज कार्डबाट नेपालले ७८ लाख ३२ हजार रुपैयाँ राजस्व उठाएको छ । गत बर्षको सोही अवधिमा नेपालले भारत र चीनबाट गरी ४ करोड ८८ लाख ६२ हजार रुपैयाँ बराबरका २१ करोड ९२ लाख ६२ हजार २ सय प्रति रिचार्ज कार्ड आयात गरेको थियो । जसमा भारतबाट मात्रै ४ करोड ७९ लाख ४४ हजार रुपैयाँ बराबरको २१ करोड ९० लाख ९ हजार २ सय पीस रिचार्ज ल्याएको थियो । तर चीनबाट भने गत बर्ष ९ लाख १८ हजार रुपैयाँ बराबरको २ लाख ५३ हजार रिचार्ज कार्ड आयात गरेको थियो ।

नेपालले गत बर्ष भारतबाट बढी रिचार्ज कार्ड आयात गरेकोमा यो बर्ष भने चीनबाट बढी रिचार्ज कार्ड भित्र्याएको छ । तर, रिचार्ज कार्ड आयातको पछिल्लो ५ बर्षको तथ्यांकलाई केलाउँदा भने नेपालमा रिचार्ज कार्ड प्रयोगमा उत्तारचढाव आएकोे देखिन्छ । नेपालमा आर्थिक बर्ष २०७२–७३ मा ६ करोड ४० लाख ७७ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात भएको थियो । त्यसको पछिल्लो बर्ष नेपालले १७ करोड ३१ लाख ९४ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीस)को तथ्यांकमा उल्लेख छ । यसरी आर्थिक बर्ष २०७२–७३ को तुलनामा आव २०७३–७४ मा झण्डै ११ करोड रुपैयाँ बढीको रिचार्ज कार्ड आयात भएको देखिन्छ । तर आव २०७३–७४ को पछिल्लो बर्ष अर्थात आव २०७४–७५ मा भने पुनः रिचार्ज कार्ड आयात घटेको देखिन्छ । उक्त आवमा नेपालमा ९ करोड ६५ लाख ६० हजार रुपैयाँको रिचार्ज कार्ड आयात भएको देखिन्छ ।

यस्तै आर्थिक बर्ष २०७५–७६ मा नेपालमा ९ करोड १३ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात भएका छ । उक्त बर्ष नेपालमा भारतबाट मात्रै ९ करोड ६ लाख ४७ हजार रुपैयाँको रिचार्ज कार्ड आयात भएको छ । पछिल्लो आर्थिक बर्ष २०७६–७७ मा भने नेपालमा अघिल्लो आवको तुलनामा रिचार्ज कार्डको आयात बढेको देखिन्छ । टीईपीसीको तथ्यांक अनुसार उक्त बर्ष नेपालमा १० करोड ११ लाख ४१ हजार १ सय ८० रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात भएको थियो । जसमा भारतबाट मात्रै १० करोड २ लाख २२ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात भएको देखिएको छ । बाँकी रिचार्ज काड चीनबाट आयात भएको थियो ।

यो ५ बर्षमा भारत र चीनबाट बढीे रिचार्ज कार्ड आयात भएपनि तेस्रो देश क्यानडाबाट पनि रिचार्ज कार्ड भित्रिएको टीईपीसीको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार आर्थिक बर्ष २०७४–७५ मा मात्रै नेपालमा क्यानडाबाट ४० हजार ५ सय २७ रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात भएको देखिन्छ । नेपालमा हाल टेलिभिजन दर्शक मात्रै २० लाख बढी छन् । डिसहोम, सिम टिभीलगायतका टेलिभिजन दर्शकहरुले पनि आफ्नो टेलिभिजनमा रिचार्ज गर्दा रिचार्ज कार्डको प्रयोग गर्ने गर्दछन् । यस्तै टेलिफोन सेवाग्राही भने ३ करोड बढी भएको नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकले बताउँछ । यी सबै सेवाग्राहीले रिचार्ज कार्डको प्रयोग नगरेपनि ८० प्रतिशत बढीले रिचार्ज कार्डकै प्रयोग गर्नै प्राधिकरणको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL