Logo

कोरोनाका नाममा अहिलेसम्म १८ अर्ब १३ करोड रुपैयाँ सकियो, स्थानीय तहले गरे ६ अर्ब बढी रकम खर्च

कोरोनाका नाममा अहिलेसम्म १८ अर्ब १३ करोड रुपैयाँ सकियो, स्थानीय तहले गरे ६ अर्ब बढी रकम खर्च



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा उपचारका निम्ति १८ अर्ब १३ करोड रुपैयाँ खर्चिएको छ । कोरोना संक्रमण शुरु भएयता तीन तहका सरकारले सो रकम खर्चिएका हुन् । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको छ महिनामा यो खर्च भएको हो ।

गत वर्ष ११ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ कोरोना उपचार तथा रोकथामको नाममा खर्च भएकोमा चालू वर्षको छ महिनामा ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालू वर्षमा संघले बजेटरी खर्चबाट १ अर्ब ३५ करोड ५० लाख र कोरोना कोषबाट १ अर्ब ४० करोड ३७ लाख गरी २ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, प्रदेश सरकारले १ अर्ब ४२ करोड ३३ लाख र स्थानीय तहले २ अर्ब ७ करोड ८६ लाख रुपैयाँ खर्च गरेका छन् ।

गत वर्ष भने संघीय सरकारले ५ अर्ब ८४ करोड ११ लाख, प्रदेशले १ अर्ब ४९ करोड र स्थानीय तहले ६ अर्ब २ करोड ८१ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको मंगलबारसम्मको तथ्यांकनअुसार देशभर अहिलेसम्म कुल २ लाख ७२ हजार २१५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७३७ रहेको छ भने अहिलेसम्म २ लाख ६८ हजार ४३१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख १ हजार ५९ पुगेको छ । क्वारेन्टाइनमा ८७ जना रहेका छन् भने आइसोलेसनमा १ हजार ७३७ जना रहेका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL