Logo

प्रत्येक महिना १ खर्ब बढीको व्यापारघाटा : यी हुन् धेरै आयात र निर्यात हुने १० वस्तु

प्रत्येक महिना १ खर्ब बढीको व्यापारघाटा : यी हुन् धेरै आयात र निर्यात हुने १० वस्तु



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले ६० अर्व ८० करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गर्दा ६ खर्ब ६१ अर्ब बराबरको आयातको व्यापार गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालले यस अवधिमा ६ खर्ब ४५ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको छ । यसरी हेर्दा नेपाल हरेक महिना १ खर्ब बढीको व्यापारघाटामा चलिरहेको छ ।

नेपालले धेरै बर्ष पहिलेदेखि नै घाटाको वैदेशिक व्यापार गरिरहेको छ । पछिल्लो समय उच्च आयातमा रहेका वस्तुहरुको आयात वृद्धिदर निरन्तर उकालो लाग्दा पनि यस्तो व्यापारघाटामा उल्लेख्य वृद्धि भईरहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा सबैभन्दा बढी आयात हुने मुख्य १० बस्तुले नै कुल आयातको झण्डै आधा अर्थात ४३ दशमलव ४ प्रतिशत हिस्सा ओगटेका छन् । जसमा पेट्रोलियम पदार्थदेखि चामलसम्म परेका छन् ।

तथ्यांकअनुसार पछिल्लो ६ महिनामा नेपालमा ६५ अर्ब ६८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशतले गिरावट आएपनि आयातको सूचीमा उच्च स्थानमा छ । यस्तै उच्च आयात हुने बस्तुमा सूचीको दोस्रो स्थानमा परेको सवारीसाधन तथा पार्टपुर्जा भने पछिल्लो ६ महिनामा ५५ अर्ब ६८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

यस्तै उच्च आयातको सूचमा तेस्रो, चौथो, पाचौं र छैठो स्थानमा क्रमशः मेशिनरी पार्टपुर्जा, एमएस बिलेट, चामल र दूरसंचार सेवाका उपकरणहरु रहेका छन् । उक्त वस्तुहरु पछिल्लो ६ महिनामा क्रमशः ३२ अर्ब ९२ करोड, २९ अर्ब २ करोड, २५ अर्ब १२ करोड र १ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएका छन् ।

यस्तै उच्च आयातको सातौँ स्थानमा परेको कच्चा भटमासको तेलको आयात गत बर्षको तुलनामा ६६ प्रतिशतले बढेर १७ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ । साथै उच्च आयातको आठौं, नवौं र दशौं स्थानमा भने ओषधि, तयारी पोशाक र सुन परेका छन् । चालु आवको ६ महिनामा सुन मात्रै १२ अर्ब २१ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो ।

धेरै निर्यात हुने वस्तुहरु

पछिल्लो समय नेपालले निर्यात व्यापारमा सुधार गरेको देखिदा नेपालबाट निर्यात हुने बस्तुको सूचीमा अलैची, धागो, तेलजस्ता बस्तु अग्रस्थानमा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पछिल्लो ६ महिनामा नेपालबाट ६० अर्ब ७९ करोड रुपैयाँको मात्रै मालवस्तु निर्यात भएको छ । जुन गत बर्षको तुलनामा ६ दशमलव १ प्रतिशतले बढी पनि हो ।
नेपालबाट निर्यात हुने बस्तुको सूचीमा पहिलो नम्बरमा अलैँची रहेको छ ।

नेपालले पछिल्लो ६ महिनामा ३ अर्ब ७८ करोड रुपैयाँको अलैँची निर्यात गर्दा यो निर्यातित वस्तुको पहिलो स्थानमा परेको हो । यस्तो अलैँची गत आवको पहिलो ६ महिनामा २ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै धेरै निर्यात भएको वस्तुको दोस्रो स्थानमा पोलिस्टर धागो परेको छ । यो स्थान पछिल्ला केही महिना पाम तेलले ओगटेपनि अब पाम तेलको निर्यात भने खस्केको तथ्यांकमा उल्लेख छ । जसका कारण पाम तेल निर्यातित वस्तुको उच्च २० को सूचिमा पनि अटाउन सकेको देखिँदैन । यस्तै धेरै निर्यात हुने वस्तुको तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा क्रमशः ऊनको कार्पेट, जुटका सामान, तयारी पोशाक र जुस परेका छन् ।

पछिल्लो ६ महिनामा १ अर्ब ६३ करोड रुपैयाँबराबरको निर्यात भएको कपडा धेरै निर्यात हुने वस्तुको सातौं स्थानमा पर्दा पश्मिना आठौं स्थानमा परेको देखिन्छ । यस्तै धेरै निर्यात हुने वस्तुको नवौं र दशौं स्थानमा क्रमशः पीना र जडीबुटी परेका छन् । पछिल्लो छ महिनामा नेपालबाट पीना मात्रै ९३ करोड ९७ लाख रुपैयाँबराबरको निर्यात हुँदा ९१ करोड २८ लाख रुपैयाँ बराबरको जडिबुटी निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्