Logo

रेमिटान्स आप्रबाह ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो ४ खर्ब ९५ अर्ब

रेमिटान्स आप्रबाह ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो ४ खर्ब ९५ अर्ब



काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा झण्डै ५ खर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव १ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ० दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ० दशमलव ९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ० दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले वृद्धि भई ५ खर्ब ४९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ० दशमलव ४ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालू खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ । यस्तै, पुँजीगत ट्रान्सफर ८ दशमलव १ प्रतिशतले कमी आई ६ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव २ प्रतिशतले कमी आई ७ अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्