Logo

होटल व्यवसायी भन्छन-सरकारले दिने भनेको पुनर्कर्जा पाएनौं, रुग्ण उद्योगका रूपमा घोषणा गरेर सहुलियत दिनुपर्ने माग

होटल व्यवसायी भन्छन-सरकारले दिने भनेको पुनर्कर्जा पाएनौं, रुग्ण उद्योगका रूपमा घोषणा गरेर सहुलियत दिनुपर्ने माग



काठमाडौं । सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुर्नकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् ।

कोभिड सङ्क्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल सङ्घ पोखराले आइतबार आयोजना गरेको बृहत् छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले विभिन्न बैंकमार्फत सहुलियत दरको पुनरकर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा उक्त कर्जा नपाएको कार्यक्रमका सहभागीका भनाइ थियो । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीबीच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

नेपाल सरकारद्वारा व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने पुनरकर्जा, कर्जाको पुनर्तालिकीकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो । यसैगरी विद्युत् माग (डिमाण्ड) शुल्क तथा महशुल एवं विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए ।  

होटल सङ्घ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढङ्गले व्यवसायीले पुनरकर्जा पाउन नसक्नु दुःखद् भएको बताए । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई व्यवसायीका समस्याबारे अवगत गराइसकिएको जानकारी दिए । पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको जनाउँदै यसका लागि व्यावसायिक एकतामार्फत सरकारलाई दबाब दिन जरुरी रहेको धारणा राखे । 

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको गुनासो गरे । पराजुलीले कोभिडको महामारीमा पनि सङ्घले केही महिनाअघि पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिएको, पूर्वका व्यवसायीको टोलीसमेत पोखरा आएको र आगामी दिनमा पश्चिम नेपालमा पनि ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिइने जानकारी दिए । यसैगरी भारतमा ‘चलिए पोखरा’ र चीन तथा अन्य देशमा समेत नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजनामा सङ्घ रहेको उनको भनाइ थियो । 

सङ्घका सल्लाहकार गोविन्दराज पहारी, अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईलगायतका व्यवसायीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको जनाउँदै यो क्षेत्रलाई रुग्ण उद्योगका रूपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गरे । कर तिरेर पनि होटल व्यवसायीले अहिले सङ्कट पर्दा सुविधा पाउन नसकेको उनीहरुको भनाइ थियो । सहभागीले कोभिडको असर अझै कम्तीमा तीन वर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालीन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राखेका थिए । सरकारले पुनरकर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बहाना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको सहभागीको गुनासो थियो । रासस

प्रतिक्रिया दिनुहोस्