Logo

एक वर्षमा नेपालबाट साढे ९ करोड रुपैयाँ बराबरको कपाल निर्यात, कुन-कुन देश पुग्छ नेपालीको रौं ?

एक वर्षमा नेपालबाट साढे ९ करोड रुपैयाँ बराबरको कपाल निर्यात, कुन-कुन देश पुग्छ नेपालीको रौं ?



काठमाडौं । नेपालले गत आर्थिक बषमा करिव ४ हजार किलो मानिसको कपाल विदेश निर्यात गरेको छ । नेपालले आर्थिक बर्ष २०७६/७७ मा मात्रै ९ करोड ३९ लाख ६९ हजार २ सय ५३ रुपैयाँ बराबरको ३ हजार ९ सय १० किलो कपाल निर्यात गरेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार नेपालले हालसम्म कोरिया, चीन, जापान, अमेरिका, क्यानडालगायतका देशमा कपाल निर्यात गर्दै आएको छ । जसमा नक्कली विग, मानिसको कपालबाटै बनेको विग, भेडाको ऊन, आँखीभौं, दाह्रीलगायत वस्तुहरु परेका छन् ।

केन्द्रका अनुसार गत आवमा नेपालबाट जापानमा मात्रै ३ करोड २४ लाख २६ हजार रुपैयाँ बराबरको ८ सय ४६ किलो कपाल निर्यात भएको छ । यस्तै कोरियामा भने उक्त अवधिमा नेपालले ३ करोड ९ लाख रुपैयाँ बराबरको २ हजार ४ सय ५३ किलो कपाल निर्यात गरेको हो ।

केन्द्रको तथ्यांक अनुसार नेपालले अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा १८ करोड ४४ लाख २३ हजार रुपैयाँ बराबरको ५ हजार १ सय ५४ किलो मानव कपाल विदेश निर्यात गरेको थियो । जसमा सबैभन्दा ठुलो आयातकर्ता कोरिया नै रहेको थियो । कोरियाले उक्त बर्ष नेपालबाट मात्रै ११ करोड ९८ लाख रुपैयाँ बराबरको विग आयात गरेको थियो । पछिल्लो समय नेपालबाट विदेशमा निर्यात हुने मानव कपालको निर्यात केही घटेको छ । केन्द्रको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष यस्तो निर्यात करिव साढे १ हजार किलोले घटेको छ ।

नेपालले मानव कपालरुपी विग मात्रै नभई दाह्री, आँखीभौं, परेलालगायत पनि निर्यात गर्दै आएको छ । नेपालले गत बर्षमात्रै यस्तो बस्तु ७ लाख ८२ हजार रुपैयाँ बराबरको २२ किलो निर्यात गरेको थियो । यस्तै अघिल्लो आर्थिक बर्षमा भने यस्तो वस्तुको निर्यात २ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको १ हजार ८ सय २० किलो रहेको थियो । यस्तै नेपालले गत बर्ष विग मात्रै ८ लाख ७५ हजार रुपैयाँ बराबरको ५३ किलो निर्यात गरेको थियो ।

शुद्ध नेपाली उत्पादन

नेपालले पछिल्लो समय विभिन्न देशसँग अन्तररष्ट्रिय व्यापार गरिरहेको छ । जसमा कतिपय देशहरुबाट विभिन्न मालवस्तुहरु आयात गर्छ भने कतिपय देशहरुमा निर्यात पनि उत्तिकै मात्रामा गरिरहेको छ । तर, नेपालले कतिपय देशहरुबाट कच्चापदार्थ आयात गरि त्यसमा केही भ्यालुएड गरेर पनि केही वस्तुहरुको निर्यात पनि गर्ने गरेको छ । जस्तै खानेतेल, गरगहना, तयारी पोशाक, पाम आयललगायत वस्तुहरु बाहिरबाट कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गर्दै भ्यालु एड गरेर निकासी हुने गरेका छन् ।

तर, नेपालकै कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिएको शुद्ध नेपाली वस्तुमा कपाल मात्रै परेको छ । अर्थात नेपालबाट निर्यात हुने जतिपनि कपाल, विगहरु छन ती सबै शुद्ध नेपाली वस्तु हुन् । टीईपीसीका व्यापार तथा तथ्यांक विश्लेषण शाखाका प्रमुख कृष्णराज वजगाईँका अनुसार कपालबाट उत्पादिन वस्तुहरु नेपालका शुद्ध बस्तुहरुमा पर्दछन् ।

मानिसको कपाल खासगरी कस्मेटिक क्षेत्रमा नक्कली कपाल ‘विग’, नक्कली आँखीभौं, दाह्री, जुँगा आदि बनाउन प्रयोग गरिन्छ । यसका साथै मानिसको कपाल औषधि क्षेत्रमा, कृषि क्षेत्रमा मलको रुपमा, किटाणु नष्ट गर्नलगायत कार्यमा पनि उपयोगी हुने बताईन्छ । विश्वबजारमा सन २०१८ मा ११ करोड १० लाख डलर बराबरको कपालको व्यापार भएको थियो । उक्त समय मानिसको कपालको व्यापार कूल विश्व व्यापारको १ हजार १ सय ७३ औं स्थानमा परेको थियो । सन २०१८ मा विश्वमै सबैभन्दा बढी कपाल निर्यात गर्ने देश हंगकंग रहेको छ । हंगकंगले उक्त बर्ष ३ करोड २० लाख अमेरिकी डलर बराबरको कपाल निर्यात गरेको थियो । यस्तै सबैभन्दा बढी कपाल आयात गर्ने देशमा भने इन्डोनेशिया परेको छ । उक्त बर्ष इन्डोनेशिया एक्लैले विश्वभरबाट ३ करोड १२ लाख अमेरिकी डलर बराबरको कपाल आयात गरेको थियो ।

कसरी जम्मा गरिन्छ कपाल ?

भारत चीनलगायतका देशहरुमा विभिन्न कपाल काट्ने पसलहरुबाट एकदमै कम मूल्यमा यस्तो कपाल जम्मा गरिन्छ । तर, कतिपय देशमा भने विभिन्न गरिव मानिसहरुले कपाल कोर्ने बेलामा काईँयोमा अड्किएको कपाल पनि कम मूल्यमा बेच्ने गर्दछन् । जसलाई प्रशोधन गरी विभिन्न स्वरुपमा परिवर्तन गर्दै भ्यालु एड गरेर बेच्ने गरिन्छ । नेपालकै सन्दर्भमा पनि कपाल काट्ने पसलहरुले कपाल जम्मा गरेको देख्न पाईन्छ । यस्तै महिलाहरुले कपाल कोर्ने बेला झरेको कपाल पनि कपाल संकलकहरुले खरिद गरेर लिने गरेका छन् ।

तर, कतिपय स्थानमा भने कपाल पालन नै गरिन्छ । इरानलगायतका देशहरुमा बर्षमा एकचोटी कपाल काट्ने परम्परा छ । जसअनुसार एक बर्षमा एकचोटि कपाल काट्दा कपाललाई व्यवस्थित तरिकाले काटेर बेच्ने गरिन्छ । यस्तो काम भने त्यहाँका कपाल संकलकहरुले गर्दछन् । कपाल पाल्ने मानिसहरुले बार्षिक राम्रै आम्दानी पनि गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL