Logo

सेयर कारोबारलाई दुई भागमा वर्गीकरण गर्दै धितोपत्र बोर्ड, माइक्रोफाइनान्सलगायत साना कम्पनीलाई एसएमईमा राखेर मूल्यमा कन्ट्रोल गरिने

सेयर कारोबारलाई दुई भागमा वर्गीकरण गर्दै धितोपत्र बोर्ड, माइक्रोफाइनान्सलगायत साना कम्पनीलाई एसएमईमा राखेर मूल्यमा कन्ट्रोल गरिने



काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारलाई दुई भागमा वर्गीकरण गर्ने भएको छ । पछिल्लो समय साना कम्पनीको सेयर मूल्यमा चलखेल भएको तथा सोहीअनुरुप बजारमा सप्लाई कम हुँदा सीमित व्यक्तिहरुको मिलेमत्तोमा कर्नरिङ हुन थालेको निष्कर्षसहित बोर्डले दुई भागमा वर्गीकरण गरेर कारोबार गराउन लागेको हो ।

हाल सेयर कारोबारलाई दुई भागमा विभाजन गर्नका लागि अध्ययन सकिएको र केही समयभित्रै यस विषयमा छुट्टै नियम बनाएर कार्यान्वयनमा ल्याईने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । ‘अहिले साना र ठूला कम्पनीलाई बास्केटमा राखेर कारोबार गराउँदा साना कम्पनीको सेयरमा धेरै नै चलखेल भइरहेको छ,’ उनले भने, ‘बजारमा पारदर्शी बनाई एक खालको स्थिरता दिएर साना लगानीकर्ताहरु फस्नबाट जोगाउनकै लागि सेयर कारोबारलाई नै वर्गीकरण गर्न लागेका हौं ।’

अध्यक्ष ढुंगानाका अनुसार सेयर कारोबारलाई एसएमई र मेन बोर्ड गरी दूई भागका विभाजन गरिने छ । जस अनुसार एसएमई बोर्डमा साना रियल सेक्टरका कम्पनी तथा माईक्रोफाइनान्सजस्ता साना कम्पनीलाई समावेश गरिने छ । साथै मेनबोर्डमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास, ठूला इन्स्योरेन्स कम्पनीलगायत ठूलो पूँजी भएका कम्पनीलाई समावेश गरिने छ । यसले जसको ठूलो कित्ता सेयर दोस्रो बजारमा फ्लोड भएको छ र त्यस्ता कम्पनीलाई सीमित लगानीकर्ताले आफ्ना स्वार्थमा चलाउन सक्नेछैनन् ।

सेयरलाई दुई भागमा विभाजन गरेर कारोबार गराउँदा बजारमा बढी सप्लाई भएका कम्पनीलाई खुला रुपमा कारोबार गर्न दिईने भएको छ भने साना पूँजी भएका रियल सेक्टर, माइक्रोफाइनान्सलगायत अन्य साना पूँजी भएका कम्पनीको कारोबारमा भने निश्चित मापदण्डहरु तोकिने भएको छ । एसएमईमा परेका कम्पनीहरुहरुको सर्किट ब्रेक लाग्ने आधार तथा सीमा, इन्साईडर ट्रेडिङको नियमन, मूल्यमा हुने चलखेल, मूल्यमा हुने वृद्धि जस्ता विषयमा छुट्टै मापदण्ड तोकिने छ । जसले गर्दा सीमित व्यक्तिहरुको मिलेमत्तोमा मूल्य घटाउने वा बढाउने, अहिलेको जस्तो बजारमा देखिएको ड्राई आउटको समस्या समाधान हुनेछ ।

‘अहिले बजारमा बाणिज्य बैंक तथा विकास बैंकका सेयर मूल्यमा लगानीकर्ताले चलखेल गर्न सकेका छैनन् । किनभने बजारमा यस्ता कम्पनीको सप्लाई जति पनि छ,’ उनले भने, ‘जुन कम्पनीले दोस्रो बजारमा एकदमै न्यून सेयर जारी गरेका छन्, थोरै पूँजी छ त्यस्ता कम्पनीको सेयरमा सीमित व्यक्तिहरुले चलखेल गरेर सेयर कर्नरिङ गर्दै ड्राई आउटको समस्या निम्त्याएर सेयर मूल्यमा चलखेल गर्दै आएका छन् ।’

सेयरलाई दुई भागमा वर्गीकरण गरेर कारोबार गराउँदा एसएमईमा परेका कम्पनीको मूल्यमा उतारचढाव हुँदा समेत त्यसले नेप्से इण्डेक्समा खासै ठूलो प्रभाव पार्ने छैन । एसएमई बर्गमा परेका कम्पनीको कारोबारमा निश्चित मापदण्डहरु तोकिने हुँदा लगानीकर्ताहरुले समेत धेरै चलखेल गर्न नसक्ने धितोपत्र बोर्डले जानकारी दिएको छ । ‘धितोपत्र बोर्डले कुन कम्पनी वा कुन समुहको सेयर मूल्य बढ्छ वा घट्छ भन्दा पनि नीतिगत रुपमा सुधार गर्दै जाने हो,’ ढुंगानाले भने, ‘जसले स्वाचालितरुपमा सेयर बजारको मूल्यमा हुने चलखेललाई रोक्नेछ भने साना लगानीकर्ताहरु समेत बजार क्रयास हुँदा समेत फस्नबाट जोगिनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL