Logo

कोरोनापछि करोडौंले कर्जा र ब्याज तिर्न नसकेपछि खतरामा माइक्रोफाइनान्सको भविष्य

कोरोनापछि करोडौंले कर्जा र ब्याज तिर्न नसकेपछि खतरामा माइक्रोफाइनान्सको भविष्य



काठमाडौं । विश्वकै प्रमुख अर्थतन्त्रका रुपमा आफ्नो छवि कायम गर्न अगाडि बढिरहेको भारतमा कोरोना भाइरस महामारीका कारण सर्वसाधारणहरु निकै समस्यामा परेका छन् । विश्वकै धेरै गरिब जनसंख्या रहेको भारतमा निकै ठूलो ग्रामीण अर्थतन्त्र रहेको छ । शहरमा पनि ठूलो संख्यामा गरिबहरु रहेका छन् ।

यस्तोमा कम आम्दानी गर्नेहरुका लागि साना उद्यम र व्यवसायका लागि सहयोगी रहेका भनिएका माइक्रोफाइनान्स कम्पनीको भविष्य पनि कोरोनाका कारण संकटतर्फ धकेलिएको छ । माइक्रोफाइनान्स कम्पनीहरुले ऋण लगानी गरेका करोडौं ऋणीहरुले ऋण चुक्ता गर्न असमर्थ भएपछि भारतमा माइक्रोफाइनान्स कम्पनीहरुको भविष्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

अर्पिता दासले पश्चिम बंगालमा उनको घरेलु मत्स्य व्यवसायको लागि सामान र कच्चापदार्थ खरीद गर्न १,६०,००० रूपैयाँ लिएकी थिइन् । केही हप्तापछि कोरोना माहामारी कारण लकडाउनले उनकोमा माछाको माग आउन बन्द भयो र उनको व्यवसाय ठप्प भयो । जसका कारण उनले कर्जा लिएका २ वटा माईक्रोफाइनान्सलाई मासिक लगभग १२,८०० रूपैयाँ किस्ता भुक्तानी गर्न असमर्थ भइन ।

दुईजना बच्चाकी आमा रहेकी ३३ वर्षीया दासले तीन बर्ष पहिले माईक्रोफाइनान्स कम्पनीबाट कर्जा लिन थालेयता कुनै पनि महिना किस्ता र ब्याज तिर्न ढिला गरेकी थिइनन् । अहिले उनी आफ्नो पति र सम्पूर्ण परिवारसहित साग र अन्य अन्नको खेती गर्दै छिन् । जसले उनलाई माईक्रोफाइनान्स कम्पनीबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने कुनै कमाई हुँदैन् । तर, उनले यस वर्ष पनि आफ्नो मत्स्य व्यवसायका लागि प्राउन खरिद गर्न थप १,००,००० रूपैयाँ कर्जा लिने योजना बनाएकी छन् ।

भारतको प्रारम्भिक तीन महिनाको लकडाउनको क्रममा, दासलाई ऋण दिएकोमध्ये एक ऋणदाता कम्पनीका प्रतिनिधीले उनीबारे सामान्य जानकारमिात्र लिएका थिए । अहिले भने ती प्रतिनिधिहरू उनीसँग तिर्ने पैसा छ कि भनेर हरेकहप्ता घरमा आउँछन् । उनी भन्छिन्, ‘मसँग पैसा छैन भनेर भन्छु’, उनी शहरबाट टाढा कंगसबती नदीको किनारमा बस्छिन । ‘उनीहरूले मेरो पूरानो ऋण चुक्ता नगरेसम्म नयाँ ऋण नदिने बताएका छन् । यदि मैले नयाँ ऋण पाइन भने म कसरी आफ्नो व्यवसाय पुनः सुरु गर्न सक्छु ?’ उनी नयाँ ऋण नपाए १०० प्रतिशतसम्म बढी लिने साहूकारहरु कहाँ जानु पर्ने पो होकि भन्ने त्रासमा छिन् ।

विश्वभरका ऋणीहरु अहिले कोरोनाको मारमा परेका छन् । यद्यपि भारतको अवस्था झन् भयावह छ । भारत माइक्रोफाइन्समा विश्वव्यापी रुपमा प्रमुख लिडरका रुपमा रहँदै आएको छ । जसले गरिब जनतालाई मौद्रिक सेवा प्रदान गरेर उद्यमी बनाउन पनि भूमिका निर्वाह गरिरहेको छ ।

व्यक्तिगत रूपमा, यी ऋणहरू ठूलो हैनन् । तर, अहिलेको संकटबाट पार पाउन निकै विश्वको दोस्रो ठूलो जनसंख्या भएको देशका लागि कठिन रहेको छ । माइक्रोफाइन्स इन्स्टिच्युट नेटवर्क (MFIN)का अनुसार २० भारतीयमा लगभग एक भारतीय माइक्रोफाइन्सको ऋणीको रुपमा रहेको छ । भारतमा माइक्रोफाइन्सहरुले अहिले ३१ दशमलव ६ अर्ब डलर ऋण लगानी गरेका छन् ।

सन् २०१९ को लघुवित्त ब्यारोमिटरका अनुसार विश्वव्यापी रुपमा माइक्रोफाइनान्समा १४० मिलियन ऋणी रहेका छन् । जसमा ८० प्रतिशत महिला रहेका छन् । ३० वर्षअघि परोपकारी कार्य जस्तो देखिने माइक्रोफाइनान्स व्यवसाय अहिले संस्थागत विश्वव्यापी उद्यममा रुपान्तरण भएको छ र खर्बौ लगानी गर्न सक्षम रहेको देखिन्छ । ब्यारोमिटर प्रतिवेदनका अनुसार माइक्रोफाइनान्सले १२४ बिलियन डलर ऋण लगानी गरेका छन् । तर, अहिले यो एउटा गम्भीर संकट बन्ने देखिएको छ ।

माइक्रोफाइनान्सको विश्वव्यापी उद्यममा धेरै ऋणीहरू साना व्यापारीहरू, सडकमा व्यवसाय गर्नेहरू र दिनहुँ कमा गरेर कमाउने मजदुरहरू रहेका छन् । अहिले मानिसहरू महामारीको आर्थिक आघातमा सबैभन्दा कमजोर बनेका छन् । २०२० को मार्चमा लकडाउन पछि भारतमा धेरै मानिसहरु शहरका बस्तीबाट गाउँ फर्किए । उनीहरू अहिले पनि आफुले लिएको ऋण कसरी तिर्ने भन्ने कुनै उपाय नभएको बताउँछन् ।
यद्यपि महामारी माइक्रोफाइनान्स व्यापारको लागि यो पहिलो संकट भने होइन, तर, यो संकट सबैभन्दा ठूलो हुन सक्छ । सन् २०१० मा भारी धितो माग र असन्तुलित नियमहरूले गरीब ऋणीहरूको बीचमा आत्महत्या बृद्धि भएपछि माइक्रोफाइनान्स व्यापारमाथि नै प्रशन खडा भएको थियो । अहिले अर्पिता दासको दुखद स्थिति बंगलादेशमा माइक्रोफाइनान्सको अग्रगामी कार्यका लागि २००६मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने ८० वर्षीय पुराना अर्थशास्त्रका प्राध्यापक मुहम्मद युनुसको कल्पना र सपनाभन्दा पर रोईरहेको छ ।

अहिले भारतमा करोडौं ऋणीहरु हरेक हप्ता माइक्रोफाइनान्स कम्पनीका फोन कल र प्रत्यक्ष भेटमा ऋण चुक्ताका लागि आउने आग्रहबाट तनावमा छन् । जोसँग कोरोनापछि दैनिक गुजारमै ठूलो संकट उत्पन्न भएको छ र ऋण तिर्नका लागि उनीहरुसँग कुनै पनि आधार छैन् । परोपकारी कार्यबाट मुनाफाखोरी बनेका माइक्रोफाइनान्सको चर्को ब्याज र विभिन्न शर्तमा पिल्सिएका ऋणीहरुले कोरोनायता ऋण, ब्याज र किस्ता नतिर्दा भारतमा खर्बौ रुपैयाँ लगानी गरेका माइक्रोफाइनान्स कम्पनीहरु संकटको संघारमा पुगेका छन् । कतै नेपालमा पनि यस्तै संकट आउने हो कि ? विभिन्न अन्तराष्ट्रिय समाचारका आधारमा तयार पारिएको

प्रतिक्रिया दिनुहोस्