नेपालमा पछिल्लो समय ‘डिजिटल पेमेन्ट’ (विद्युतिय भुक्तानी) कालागि क्युआर कोडको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । अहिले चियापसल देखि तरकारी खरीद गर्नसमेत क्युआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ । केही सेकेन्डमै भुक्तानी गर्न सकिने तथा डाटाहरु एकैपटक पढ्न सक्ने क्षमता राख्ने भएकाले क्युआर कोडको प्रयोग विश्वभर बढ्दै गएको छ ।
नेपालमा क्युआर कोडको प्रयोग कुनै सामान पहिचान, वेवसाइट, अध्ययन तथा व्यक्तिको परिचयलगायतका कुराहरु पत्ता लगाउन प्रयोग हुँदै आएको थियो । तर, पछिल्लो समय भने बैंक तथा वित्तिय संस्थाले क्युआर कोडमा ध्यान दिन थालेसँगै डिजिटल पेमेन्टका लागि क्युआर कोडको प्रयोग ह्वात्तै बढेको छ । नेपालमा क्युआर कोडका प्रयोग भने पछिल्ला केही बर्षदेखि हुँदै आएको हो । विश्वमा सबैभन्दा पहिला जापानी मोटर कम्पनीका लागि बनाइएको यो प्रणाली संसारभर विभिन्न रुपमा फैलिँदो छ ।
क्युआर कोडको पुरा रुप क्विक रेस्पोन्स अर्थात नेपालीमा छिटो प्रतिक्रिया दिने भनेर बुझिन्छ । क्युआर कोड कोड रिडरले रिड गर्न समय नलाग्ने र रियल टाईम रेस्पोन्स हुने भएकाले नै यसको विश्वबजारदेखि नेपालमा पनि उपयोगिता विस्तार हुँदै गएको देखिन्छ । नेपालमा विभिन्न क्षेत्रमा प्रचलनमा रहेको यो प्रणालीलाई वित्तीय क्षेत्रमा परिचालन गरिँदा अर्थतन्त्रमा पनि उत्तिकै सहयोग पुग्ने देखिन्छ ।
क्युआर कोडकालागि आवश्यक महत्वपुर्ण वस्तु क्युआर कोड र कोड रिडर हो । कोडमा सेवाप्रदायकले जे जे कुराहरु राख्न चाह्यो त्यो राख्न मिल्ने सुविधा यसमा हुन्छ । जसका कारण कोड रिडरले कोडमा राखिएका डाटाहरु रिड गरेर सोहीअनुसारको एल्गोरिदमबाट पेमेन्टको काम गर्छ । तर, पेमेन्ट हुने भनेको सिधै मोबाईलबाट हुने हैन । यसका लागि बैंक पनि आवद्ध हुनुपर्दछ ।
बैंकहरुले सेवाग्राहीहरुको मोबाइलमा विभिन्न प्रणालीमार्फत क्युआर कोड रिडरको सेवा दिन्छन् । बैंकहरुले दिने प्रणालीमा इन्टरनेट बैंकिङसम्बन्धी कुनैपनि एप्स वा बैंककै एप्सहरु हुन सक्छन् । कुनैपनि कर्पाेरेट हाउसमा सेवाग्राहीले नोट नबोकिकनै स्मार्ट मोबाइल भएको खण्डमा मोबाइलबाटै पैसा तिर्न सकिनेगरी बैंकहरुले प्रणाली विकास गरेका हुन्छन् ।
कुनैपनि बैंकले आफ्ना सेवाग्राहीहरुलाई क्युआर कोडमा आवद्ध गर्न उनीहरुले लिने सेवासँग पनि आवद्ध हुनु जरुरी छ । अर्थात म कुनैपनि पसलमा नोट पैसा नबोकिकनै गए भने पनि बैंकको क्युआर कोडको सुविधा हुनुपर्ने आवश्यकता देखिन्छ । यसकालागि सबैभन्दा प्रमुख आवश्यकता भने कनेक्टिभिटीकै देखिन्छ । क्युआर कोडको व्यापकता बढिरहेको खण्डमा काठमाडौं उपत्यकालाई मात्रै केन्द्रमा राखेर हेर्नुभएन । यसका लागि नेपालका दूरदराजमा पनि कनेक्टीभिटीको पहँुच पुर्याई सबै सेवाग्राहीलाई यसमा आवद्ध गर्न सकिए धेरै फाईदा पुग्ने देखिन्छ ।
यो प्रविधि उपयोग गर्न इन्टरनेटको पहुँच प्रमुख आवश्यकता भएकाले देशभर क्युआर कोड प्रणालीबाट भुक्तानी गर्न सकिने प्रक्रियाका लागि देशभर कनेक्टीभिटी पुर्याउनु जरुरी छ । यस्तै यसका लागि अर्काे प्रमुख आवश्यकता भनेको प्रत्येकको हातमा स्मार्टफोन हुनैपर्छ । जस्तो पायो त्यस्तो फोनले क्युआर कोड रिड गर्न नसकिने भएकाले स्मार्टफोनको पहुँचमा भएका जनतासम्म मात्रै हाल क्युआर कोडको पहुँच पुर्याउन सकिन्छ ।
तसर्थ नेपालभर नै क्युआर कोडमार्फत भुक्तानी प्रणालीको विकास गर्न अझै केहीबर्ष लाग्ने देखिन्छ । नेपालमा विकासको गति तथा राजनीतिक अस्थिरताका कारण हुने विभिन्न क्रियाकलापले तत्काल नेपालभर यसलाई पुर्याउन कठिन देखिन्छ । क्युआर कोड पनि इन्टरनेट बैंकिङकै एक पाटो भएकाले यसले हालको मोबाईल बैंकिङ, एटिएम भुक्तानी, पीओएस भुक्तानीलगायतलाई पनि रुपान्तरण गरेको छ । केही बर्षदेखि चलेको पीओएस मेशिनलाई भने यसले रिप्लेसनै गरिदिएको छ भन्न मिल्छ ।
तर यसको राम्रो प्रयोग र सेवाग्राहीलाई सेवा उपयोग गर्ने उचित वातावरण बनाउन भने बैंकहरुको अन्तरआवद्धतालाई पनि प्रमुख रुपमा लिनुपर्छ । हाल कुनै पसलमा गए ईसेवाको मात्रै क्युआर कोड रिड गर्ने अर्काेमा फोन पेको मात्रै रिड गर्नेलगायतका सूचनाहरु हुन्छन् । यस्तै कतिपयमा त निश्चित बैंक वित्तीय संस्थाको मात्रै क्युआर कोड भुक्तानी गर्न मिल्ने बताईएको हुन्छ । जसका कारण पनि सेवाग्राहीहरु यसमा समेटिन चुनौती नै छ ।
यदि बैंंक तथा वित्तीय संस्थाहरुले एक अर्काेमा अन्तरआवद्ध बढाएर क्युआर कोड सेवाको सुरुवात गरेको खण्डमा भने सेवाग्राहीलाई पनि ठुलो मद्दत मिल्ने देखिन्छ । अन्तरआवद्धता भएको खण्डमा सेवाग्राहीले जुनसुकै बैंकको मोबाइल बैंकिङ सेवाबाट जुनसुकै एकाउन्टको क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
तर सेवाप्रदायकहरुले पनि आफ्नो सेवालाई चुस्त र दुरुस्त राख्न आफुले बनाएको प्रणालीलाई मजबुत बनाई सेवाग्राहीलाई हस्तान्तरण गरिनुपर्दछ । पछिल्लो समय रियल टाईम एक्सेस नहुने, भनेको बेलामा भुक्तानी नहुने समस्या क्युआर कोड पेमेन्टमा पनि छ । तर त्यसका लागि प्रणालीमा सुधार, सर्भरमा भएका समस्याहरुलाई निर्मूल पार्न सेवाप्रदायकले नै विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
सेवाग्राहीको सुरक्षाका कोणबाट पनि यसलाई सुरक्षित तुल्याउन उत्तिकै जरुरी छ । यसका लागि नेपाल सरकारलेसमेत साईबर सुरक्षाका विभिन्न क्रियाकलापहरु अघि बढाएको छ । जसमा भुक्तानी सुरक्षालाई पनि विशेष रुपले हरिएको छ । (भट्टराई प्रविधिविज्ञ हुन्)