Logo

विश्व प्रदर्शनी उद्योगमा कोरोनाको असर : २ सय २४ बिलियन डलरको क्षति, २४ लाखको रोजगारी गुम्यो

विश्व प्रदर्शनी उद्योगमा कोरोनाको असर : २ सय २४ बिलियन डलरको क्षति, २४ लाखको रोजगारी गुम्यो



काठमाडौं । प्रदर्शनी उद्योगको विश्वव्यापी संघ ग्लोबल एसोसियन अफ दि एक्जिबिसन इण्डष्ट्रि (यूएफआई) ले विश्व प्रदर्शनी उद्योगमा कोरोनाका कारण ठूलो क्षति पुगेको बताएको छ । यूएफआईले हालै जारी गरेको एक अध्ययन प्रतिवेदनमा कोभिड–१९का कारण विश्व प्रदर्शनी उद्योगमा कोरोनाको कारण २ सय २४ बिलियन डलरको क्षतिका साथै २४ लाखको रोजगारी गुमेको उल्लेख छ । यूएफआईले सन् २०२० को विश्वव्यापी प्रदर्शनी र ट्रेड शो उद्योगको पूर्ण अध्ययन र क्षति मूल्यांकनपछि प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।

यूएफआईका अनुसार सन् २०२० प्रदर्शनी र ट्रेड शो उद्योगको राजस्वमा सन् २०१९ को तुलनामा ६८ प्रतिशतले गिरावट आएको छ । यो नतिजा गत हप्ता सार्वजनिक गरिएको यूएफआई ग्लोबल एक्जिबिशन ब्यारोमिटरमा प्रदान गरिएको क्षेत्रीय तथ्यांकमा आधारित छ । प्रतिवेदनका अनुसार सन् २०१९ को तुलनामा प्रदर्शनी र ट्रेड शो उद्योगले सन् २०२० मा मध्य तथा दक्षिण अमेरिकामा जम्मा २३ प्रतिशत, मध्यपूर्व र अफ्रिकामा २४ प्रतिशत, एसिया–प्रशान्त क्षेत्रमा २७ प्रतिशत, युरोपमा ३२ प्रतिशत र उत्तर अमेरिकामा ३६ प्रतिशतमात्र व्यापार गर्न सकेको हो ।

प्रदर्शनी उद्योगमा आएको संकटले विभिन्न क्षेत्रहरूमा सीधा प्रभाव पारेको यूएफआइले उल्लेख गरेको छ । कोरोनाका कारण प्रदर्शनी उद्योग ठप्प हुँदा प्रदर्शनी स्थलहरू, आयोजकहरू र सेवा प्रदायकहरू, होटल, रेस्टुरेन्ट र यातायात क्षेत्रमासमेत गम्भीर प्रभाव परेको छ । यी सबै क्षेत्रहरूलाई ध्यानमा राख्दै यूएफआइले सन् २०२० मा कूल प्रदर्शनी सम्बन्धित उत्पादनको न्यूनतम ८० बिलियन यूरो (२२ अर्ब डलर) उत्तरी अमेरिकामा, ६५ बिलियन यूरो (७३ बिलियन डलर) यूरोपमा र र एशिया प्रशान्त क्षेत्रमा ४६ बिलियन यूरो ( ५२ बिलियन डलर) को क्षति भएको अनुमान गरेको छ ।

२४ लाख रोजगारी प्रभावित

प्रदर्शनी उद्योग आमने–सामने (फेस टु फेस) का इभेन्टहरुमा आधारित हुने र यसले तुरुन्तै व्यवसाय सिर्जना गर्दछ । तर, सन् २०२० मा अधिकांश प्रदर्शनीहरू कोरोनाका कारण फेस टु फेस हुन नसक्दा अनुमानित ३३० बिलियन यूरो (३८० बिलियन अमेरिकी डलर) को ब्यापार प्रभावित भयो । जबकि त्यो घाटाको एक सानो अंश डिजिटल प्लेटफर्मबाट र विशिष्ट क्षेत्रहरूको लागि पूर्ति भएपनि क्षतिको प्रभाव भने धेरै नै रहेको यूएफआइले सार्वजनिक गरेको प्रतिवेदनमा छ । ‘कोरोनाकै कारण यो उद्योगमा संलग्न २४ लाख पूर्णकालीन कामदारहरुको रोजगारीसमेत गुमेको छ’, प्रतिवेदनमा उल्लेख छ ।

‘कोभिड–१९ले प्रदर्शनी उद्योगमा निकै गम्भीर प्रभाव पारेको छ, साथसाथै ती क्षेत्रहरू जसले आमने–सामनेका व्यापार र भेटघाटबाट फाइदा लिन्छन् । यसको प्रभाव केवल प्रदर्शकहरूले मात्र महसुस गरेनन, जसले उनीहरूका उत्पादनहरू प्रदर्शन गर्छन् र उनीहरूको बिक्रीलाई विकास गर्छन्, ती सबै प्रभावित भए । पर्यटन सम्बन्धित गतिविधिहरूमा संलग्न व्यक्तिहरू पनि निकै प्रभावित भए । हामी सबै वर्तमान प्रतिबन्धको अन्त्य र पुर्नजागरणको प्रतिक्षामा छौं’, यूएफआइका प्रबंध निर्देशक तथा सीईओ काई हटनफोर्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL