Logo

माइक्रोफाइनान्ससहित १ दर्जन कम्पनीको सेयर कारोबारमा रोक लगाउँदै धितोपत्र बोर्ड, नेप्सेलाई काट्यो पत्र

माइक्रोफाइनान्ससहित १ दर्जन कम्पनीको सेयर कारोबारमा रोक लगाउँदै धितोपत्र बोर्ड, नेप्सेलाई काट्यो पत्र



काठमाडौं । धितोपत्र बोर्डले एकदर्जनभन्दा बढी कम्पनीको सेयर कारोबार रोक लगाउने भएको छ । बोर्डले समयमै त्रैमासिक वित्तीय विवरण सार्वजनिक नगर्ने तथा लगानीकर्तालाई विस्तृत विवरण नदिने कम्पनीहरुको दोस्रो बजारमा सेयर कारोबारमा रोक लगाउन लागेको हो ।

हाल केही माइक्रोफाइनान्स, इन्स्योरेन्स तथा जलविद्युत कम्पनीहरुको सेयर कारोबारमा रोक लगाउन लागिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । ‘हामीले नेप्सेमा सुचिकृत सबै कम्पनीको यथार्थ विवरण अध्ययन गरी जानकारी गराउन नेप्सेलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘नेप्सेले विस्तृत अध्ययन गरेर रिपोर्ट पठाएपछि मात्रै कुन–कुन कम्पनीको सेयर कारोबार रोक लगाउने भन्ने विषयमा यकिन हुनेछ ।’ सम्भवत आधा दर्जनभन्दा बढी जलविद्युत क्षेत्रका कम्पनी तथा केही माइक्रोफाइनान्स र इन्स्योरेन्स क्षेत्रका कम्पनीको सेयर कारोबारमा रोक लाग्ने देखिएको समेत उनले बताए ।

केही समयअघि धितोपत्र बोर्ड तथा नेप्सेले समयमै वार्षिक साधारणसभा नगर्ने राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको सेयर कारोबारमा रोक लगाइसकेको छ । यी दुबै कम्पनीले लामो समयदेखि नेप्सेलाई बुझाउनुपर्ने त्रैमासिक वित्तीय विवरणसमेत बुझाउन सकेका छैनन् भने वार्षिक साधारणसभासमेत गरेका छैनन् ।

‘हाम्रो उद्देश्य भनेको बजारमा स्वच्छ प्रतिस्पर्धाका साथै लगानीकर्ता मात्र सुचिकृत कम्पनीको सम्पूर्ण विवरण सबै पारदर्शी हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘अहिले कतिपय माइक्रोफाईनान्स, इन्स्योरेन्स तथा जलविद्युत क्षेत्रका कम्पनीले सबै कुरा लगानीकर्ता माझ पारदर्शी रुपमा प्रस्तुत गरेका छैनन् त्यसलै सेयर कारोबारमै रोक लगाउने लागेका हौं ।’

हाल नेप्सेमा सूचीकृत त्यस्ता कम्पनीहरुको अध्ययन अन्तिम चरणमा पुगिसकेको र केही समयभित्रै दोस्रो बजारमा हुने सेयर कारोबारमा रोक लगाइनेसमेत ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL