Logo

बन्दमा जलाइएका र तोडफोड भएका सवारीले क्षतिपूर्ति पाउँलान, गृहमन्त्रालय भन्छ-आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउँछौं

बन्दमा जलाइएका र तोडफोड भएका सवारीले क्षतिपूर्ति पाउँलान, गृहमन्त्रालय भन्छ-आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउँछौं



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बिहीबार गरेको देशव्यापी हड्तालका क्रममा देशका विभिन्न भागमा आगजनी र ताडफोडका गतिविधी भएका छन् ।

यसैक्रममा काठमाडांैंको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गररयो । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा बिहानै ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ । जसका कारण ट्याक्सी चालकको कमाउने भाँडो नै नष्ट भएको छ भने दैनिक रोजीरोटीको पनि प्रश्न खडा भएको छ । यस्तै चितवन, बिराटनगर तथा देशका विभिन्न स्थानमा ट्रक तथा निजी सवारीमा पनि तोडफोड भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको जानकारी दिए ।

ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै यसको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले आमहडतालको घोषणा गरेको थियो ।

सोलगत्तै सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको थियो । गृह मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको थियो ।

मन्त्रालयले दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने पनि जनाएको थियो । तर, सरकारी आश्वासनसँगै सवारी सञ्चालन गरेका सवारीमाथि आगजनी र तोडफोड भयो । यस्तोमा सबैलाई निर्धक्क सवारी सञ्चालन गर्न आह्वान गरेको सरकारले क्षतिपूर्ति देला कि नदेला भन्न प्रशन आम सर्वसाधारणको छ ।

सरकार भने आगजनी र तोडफोडका घटनामा पुगेको क्षति आन्दोलनकारीबाटै भराउने बताउँछ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनामा संलग्नबाटै सम्बन्धितलाई क्षतिपूर्ति भराइने बताउँछन् । ‘सरकारले आन्दोलनकारीबाटै क्षतिर्पूिर्त भराउँछ । तर, आन्दोलनकारी फेला नपरेमा भने सरकार आफैले क्षति मूल्यांकन गरेर पीडितलाई क्षतिपूर्ति दिन्छ’, न्यौपानेले बिजखबरसँग भने ।

धेरैजसो सवारीको बमिा हुने भएपनि बन्द, हड्ताल तथा आन्दोलनका क्रममा क्षति पुगेका सवारीको भने बीमा कम्पनीले दायित्व वहन नगर्ने भएकाले बन्द हड्तालमा क्षति पुगेका सवारीधनीहरु सधै पीडामा रहँदै आएका छन् । सरकारले क्षतिपूर्ति दिने भनेपनि विगतमा भएका घटनामा क्षतिपूर्ति नपाएको सवारीधनीहरुको गुनासो रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL