Logo

कस्तो छ प्रचण्ड-नेपाल समूहको आमहड्तालको काठमाडौं उपत्यकालगायत देशभर प्रभाव ?

कस्तो छ प्रचण्ड-नेपाल समूहको आमहड्तालको काठमाडौं उपत्यकालगायत देशभर प्रभाव ?



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहलले आह्वान गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । संघीय राजधानीसहित देशका ठूला सहरमा सार्वजनिक यातायातका साधन कम चलेका छन् ।

यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरिएको छ ।

बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

यसैबीच राजधानीको सामाखुसीबाट प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । आम हडताललाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार एक बिज्ञप्ति प्रकाशित गरी तोडफोड नगर्न आग्रह गरेको थियो। बन्दको समर्थनमा सडकमा उधिएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै पार्टीका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य हितमान लगायतलार्ई प्रहरीले कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार युवासंघका रमेश मल्ल बागबजारबाट पक्राउ परेका छन भने चाबहिलबाट कृष्ण केसी सहित ६० नेता कार्यकर्ता पक्राउ परेका छन् ।

अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता नियन्त्रणमा

आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् ।

यसैबीच नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेता कार्यकर्ताहरु सडकमा आएका बेला पक्राउ परेका हुन् । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड(नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात(व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

काठमाडौँको गोंगबुमा ट्याक्सीमा आगजनी

नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देखिन थालेको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि जनजीवन प्रभावित भएको हो ।

प्रहरीले बिहानै बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । यस्तै गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आज आम हड्तालको आह्वान गरेको हो ।

पूर्वमा बन्दको आंशिक प्रभाव

नेकपा प्रचण्ड– नेपाल समूहले गरेको आम हड्तालको प्रदेश १ आंशिक प्रभाव देखिएको छ । विराटनगरमा नेता तथा कार्यकर्ताहरु सडकमा देखिएपनि खासै हड्तालको प्रभाव नदेखिएको हो ।
विराटनगरको बरगाछि, महेन्द्रचोक लगायतको ठाउँमा केही नेताहरु देखिएपनि अन्य ठाउँमा बन्दकर्ताहरु पनि देखिएका छैनन् । प्रदेश १ को राजधानी विराटनगरमा सवारीका साधनहरु छिटफुट चलेको प्रहरीले जनाएको छ ।

ईटहरीमा पनि खासै बन्द प्रभाव देखिएको छैन ।काठमाडौँबाट आएका सवारी साधनहरुलाई गन्तव्यमा जान दिइएको छ भने छोटा स्थानीय सिटी तथा अटोहरु समेत निर्वाधन संचालनमा रहेका छन् । त्यस्तै औद्योगिक क्षेत्र पनि खुलेका छन् । उद्योग धन्दा कल कारखानामा कुनै असर देखिएको छैन ।

वीरगञ्जमा नेता रहबर अन्सारीसहित ८ जना पक्राउ

वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । पार्टीले घोषणा गरेको आम हड्ताल सफल बनाउन सडकमा उत्रिका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए ।

गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।

मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा बन्द आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL