Logo

लमजुङमा लामा कन्स्ट्रक्सनको हेभी उपकरणमा आगजनी, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कार्वाही गर्न महासंघको माग

लमजुङमा लामा कन्स्ट्रक्सनको हेभी उपकरणमा आगजनी, पीडितलाई क्षतिपूर्ति र दोषीलाई कार्वाही गर्न महासंघको माग



काठमाडौं । निर्माण व्यवसायीहरूलाई अज्ञात समुहबाट निरन्तर हतोत्साहित गर्ने, उनीहरूको उपकरणहरूमा आगजनी गर्ने जस्ता हिंसात्मक घटनाहरू नरोकिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

यसैक्रममा लमजुङ जिल्लामा नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडक खण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रालिको हेभी उपकरणमा अज्ञात समुहले आगजनी गरेको छ । राईनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा २ क ७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी र उनीहरूका उपकरणहरूको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत यस्ता हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघको भनाइ छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघले जनाएको छ ।

तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरूका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्ति मार्फत् पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL